विराटचोकः नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाहरूका लागि लाभांश वितरणसम्बन्धी सर्कुलर जारी गरी लघुवित्त संस्थाहरूले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरूले लाभांश घोषणा गर्दा लाभांश वितरणपछिको पूँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपात (एनपीएल)लाई आधार मानेर राष्ट्र बैंकले तोकेको सीमाभित्र रही लाभांश वितरण गर्नुपर्नेछ ।
अब ५ प्रतिशतभन्दा थोरै एनपीएल भएका संस्थाहरूको १२ प्रतिशतभन्दा बढी पूँजीकोष अनुपात भएमा मात्रै २५ प्रतिशत लाभांश वितरण गर्न पाउनेछन् । ५ प्रतिशत एनपीएल भएका लघुवित्तहरूको १० देखि १२ प्रतिशतसम्म पूँजीकोष भएमा २० प्रतिशत र ८ देखि १० प्रतिशत पूँजीकोष भएमा १५ प्रतिशत लाभांश वितरण गर्न पाउने व्यवस्था छ ।
५ देखि १० प्रतिशत एनपीएल भएका संस्थाहरूको हकमा १२ प्रतिशत पूँजीकोष भएमा २० प्रतिशत लाभांश, १० देखि १२ प्रतिशतसम्म पूँजीकोष भएमा १५ प्रतिशत र ८ देखि १० प्रतिशतसम्म पूँजीकोष भएमा १० प्रतिशत लाभांश वितरण गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
१० देखि १५ प्रतिशतसम्म एनपीएल रहेका संस्थाहरूको हकमा भने १२ प्रतिशत पूँजीकोष भएमा १५ प्रतिशत, १० देखि १२ प्रतिशत पूँजीकोष भएमा १० प्रतिशत र ८ देखि १० प्रतिशतसम्म पूुँजीकोष भएमा ५ प्रतिशत मात्रै लाभांश वितरण गर्न पाइनेछ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा १५ प्रतिशतभन्दा बढी एनपीएल रहेका संस्थाहरूले भने कुनै खालको लाभांश बाँड्न नपाउने राष्ट्र बैंकले जनाएको छ । त्यस्ता संस्थाहरूको पूँजीकोष अनुपात जतिसुकै भए पनि एनपीएल कायम गर्न नसक्ने भएका हुन् ।
राष्ट्र बैंकका अनुसार खराब कर्जा अनुपात र पूँजीकोष अनुपातको आधारमा २५ प्रतिशत लाभांश बाँड्न पाउने संस्थाहरू ८ वटा मात्रै छन् । तर ती संस्थाहरूले वित्तीय विवरणमा छुट्याएको वितरणयोग्य मुनाफाको आधारमा भने तीन संस्था मात्रै २५ प्रतिशत लाभांश बाँड्न योग्य देखिएका छन् । जसमा छिमेक लघुवित्त, साना किसान विकास लघुवित्त र जीवन विकास लघुवित्त रहेका छन् ।
२० प्रतिशतसम्म लाभाश बाँड्न पाउने संस्थाहरूको संख्या भने ११ रहेको छ । तर ती संस्थाहरूको लाभांश क्षमताको आधारमा भने ५ कम्पनी मात्रै सो प्रतिशत लाभांश बाँड्न योग्य देखिएका छन् । जसमा ग्लोबल आइएमई, नेसनल, महुली, डिप्रोक्स र निर्धन उत्थान लघुवित्त रहेका छन् ।
१५ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने संस्थाहरूमा भने १९ वटा संस्था छन् । तर यी संस्थाहरूको लाभांश क्षमताको आधारमा भने ९ संस्थाले मात्रै सो प्रतिशत लाभांश दिन सक्नेछन् । जसमा महिला, स्वाभिमान, आशा, गणपति, सिवाइसी नेपाल, उन्नति सहकार्य, इन्फिनिटी, स्वरोजगार र स्वाभिमान लघुवित्त रहेका छन् ।
१० प्रतिशत लाभांश बाँड्न पाउने संस्थाहरू ७ वटा रहेकोमा ४ वटाले मात्रै सो प्रतिशतमा लाभांश दिन सक्नेछन् । जसमा हिमालयन, सम्पदा, मानुषी र श्रृजनशील लघुवित्त रहेका छन् ।
नेरुडे लघुवित्त, युनिक नेपाल लघुवित्त र नाडेप लघुवित्तले भने एनपीएल र पूँजीकोष अनुपातको आधारमा जम्मा ५ प्रतिशत मात्रै लाभांश बाँड्न पाउनेछन् ।
राष्ट्र बैंकका अनुसार संस्थाहरूले खराब कर्जा अनुपात र पूँजीकोष अनुपातको आधारमा लाभांश क्षमता बढी भए पनि सोही सीमाभित्र रहेर मात्रै लाभांश बाँड्न सक्नेछन् ।







