विराटचोकः आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।
बुधबार राति अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
नेपालका लागि ओपनिङ्ग ब्याटर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाएका थिए । त्यस्तै, गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले समान २०–२० रन बनाएका थिए ।
१४२ रनका लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भएको थियो । नेपालका लागि ललित राजवंशीले २, सन्दीप लामिछानेले २ र कप्तान रोहित पौडेलले २ विकेट लिएका थिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट लिएका थिए ।







