विराटचोकः आजका लागि शेयर कारोबार बन्द भएको छ । बजार खुलेको जम्मा ६ मिनेटको समयमा ६ प्रतिशतले नेप्सेमा गिरावट आएपछि आजका लागि कारोबार बन्द भएको हो । प्रि ओपन सेसनबाहेक आज शेयर बजार ६ मिनेट मात्रै कारोबार भयो ।
बजार खुलेको २ मिनेट २२ सेकेण्डपछि ११ बजेर २ मिनेट जाँदा ४ प्रतिशतले झरेर बन्द भएको शेयर बजार पहिलो सर्किट बे्रक लागेर २० मिनेटका लागि बन्द भएको थियो ।
२० मिनेटपछि ११ बजेर २२ मिनेट २२ सेकेण्डमा खुलेको बजार ३८ सेकेण्डपछि थप १ प्रतिशतले घटेपछि ४० मिनेटका लागि ११ बजेर २३ मिनेटमा बन्द भएको थियो ।
४० मिनेटपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार ३ मिनेटपछि थप १ प्रतिशत झरेपछि १२ बजेर ६ मिनेटमा आजका लागि बन्द भएको हो । शुक्रबार र शनिबार शेयर कारोबार नहुने हुनाले अब आइतबार मात्रै शेयर बजार खुल्नेछ ।
आज नेप्से परिसूचक १६० दशमलव ३३ अङ्क घटेर २५११ दशमलव ९१ बिन्दुमा अडिएको छ ।
१५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
बजार घटे पनि हालै नेप्सेमा आईपीओ सूचीकृत भएको हिमस्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशत बढेको छ । ९ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका बाँकी २२९ कम्पनीको शेयरमूल्य घटेको छ ।
७२ करोड ८७ लाख २ हजार ८३० रुपैयाँको शेयर कारोबार भएको बजारमा हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ४ करोड ८ लाख ७८ हजार ५९२ रुपैयाँको शेयर कारोबार भएको छ ।







