काठमाडौंः सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल नेपालमा चल्न रोक लगाएपछि कतिपयले सरकारको यो कदमलाई ठीक भनिरहेका छन् भने कतिपयले भने चर्को विरोध गरिरहेका छन् । यसैबीच नेपालीहरूले दैनिक प्रयोग गर्दै आइरहेको फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका प्ल्याटफर्ममा बढी चासो देखिन्छ ।
सरकारले दिएको विवरण अनुसार, पाँच वटा सामाजिक सञ्जाल भने यसअघि नै सूचीकृत भइसकेका छन् । टिकटक, भाइबर, निम्बज, विटक र पोपोलाइभ भने नेपालमा नियमित चलिरहेका छन् ।
टिकटक र भाइबर नेपालीले प्रयोग गरिरहनेमध्येका प्ल्याटफर्म भए पनि निम्बज, विटक र पोपोलाइभबारे भने धेरैलाई थाहा नहुन सक्छ । जसलाई हामीले यहाँ सरल तरिकाबाट प्रस्तुत गरेका छौं ः
टिकटक
टिकटक भनेको छोटो भिडियो पोस्ट गर्ने एउटा प्ल्याटफर्म हो । यसमा अचेल फोटो मात्र पनि पोस्ट गर्न मिल्छ । टिकटक एप अथवा वेबमार्फत् चलाउन सकिन्छ ।
यसको इन्टरफेस निकै सामान्य छ । एप खोल्नासाथ तपाईं ‘फोर यु पेज’ मा जानुहुन्छ । जहाँ केही मिनेटसम्मका भिडियो अथवा केही फोटाहरू आउन सक्छन् । यो चलाउने प्रक्रिया तल दिइएको छः
सबैभन्दा शुरुमा एप स्टोर (आईफोन प्रयोगकर्ता) र गुगल प्ले स्टोर (एन्ड्रोइड) बाट टिकटक डाउनलोड गर्नुहोस् । त्यसपछि त्यहाँ अकाउन्ट साइनअप अथवा लगइन गर्ने विकल्प आउँछ । साइनअप गर्न नम्बर, इमेल अथवा अन्य सामाजिक सञ्जाल प्रयोग गर्नुस् । त्यसपछि आफ्नो युजरनेम र प्रोफाइल पिक्चर राख्नुस् ।
आफ्नोबारेमा केही बायो पनि राख्नुस् । र, आफूलाई रुचि भएका विभिन्न विषय छान्नुस् । यसपछि अकाउन्ट खुल्छ । टिकटक चलाउँदा निम्न कुरा थाहा पाउनुपर्ने हुन्छ ।
फोर यू पेज (एफवाईपी)ः यो भनेको एप खोल्न साथ आउने फिड हो । यसमा टिकटकको एल्गोरिदमले तपाईंको रुचि अनुसारका कन्टेन्ट दिने गर्छ ।
फलोइङः यसमा तपाईंले फलो गरेका अकाउन्टहरूको मात्र कन्टेन्ट गर्न सक्नुहुन्छ ।
फ्रेन्ड्सः यसमा तपाईं र तपाईंको साथीले एकअर्कालाई फलो गर्नु भएपछि कन्टेन्ट देखिन्छ ।
सर्चः यसमा तपाईंले आफ्नो साथी अथवा कुनै विषय पनि सर्च गर्न सक्नुहुन्छ ।
इनबक्सः यसमा तपाईंले आफूलाई आएका मेसेजहरू हेर्न सक्नुहुन्छ ।
प्रोफाइलः यसमा तपाईंले गरेका पोस्ट, आफ्नो ड्राफ्ट अथवा लाइक गर्नुभएको भिडियो हेर्न सक्नुहुन्छ ।
भाइबर
भाइबर एउटा कल अथवा मेसेज गर्ने निःशुल्क प्लेटफर्म हो । यो एउटा ह्वाट्सएपको विकल्प पनि हो । यो चलाउन तपाईंलाई मोबाइल नम्बर चाहिन्छ । यो चलाउने प्रक्रिया तल दिइएको छ ः
सबैभन्दा पहिले एप स्टोर अथवा एप्पल एप स्टोरबाट भाइबरको एप डाउनलोड गर्नुहोस् ।
आफ्नो फोन नम्बर राख्नुहोस् । भेरिफिकेसनका लागि भाइबरले तपाईंलाई एसएमएसमा कोड आउँछ । त्यो राख्नुहोस् । त्यसपछि आफ्नो फोटो र नाम राख्नुहोस् ।
यति गर्नु भएपछि तपाईंले आफ्नो कन्ट्याक्टमा सेभ गर्नु भएका व्यक्ति, जो भाइबर चलाउँछन्, उनीहरूसँग टेक्स्टमा कुरा गर्न, फोन गर्न अथवा भिडिओ कल पठाउन सक्नुहुन्छ । ह्वाट्सएप चलाइरहनुभएको छ भने तपाईं सजिलै यो एप चलाउन सक्नुहुन्छ ।
निम्बज
निम्बज पनि एक प्रकारको मेसेजिङ एप हो । यसमार्फत च्याट गर्न, अडियो कल गर्न अथवा फाइलहरू आदानप्रदान गर्न सकिन्छ । यो चलाउन तलको प्रक्रिया अपनाउनु सक्नुहुनेछः
गुगल प्ले स्टोर अथवा एप स्टोरमार्फत निम्बज डाउनलोड गर्नुहोस् । अब एप खोल्नुहुँदा तपाईंले क्रियट न्यू अकाउन्ट देख्नुहुन्छ । यसमा आफ्नो फोन नम्बर वा इमेल प्रयोग गरेर अकाउन्ट बनाउन सक्नुहुन्छ ।
त्यसपछि आवश्यक विवरणहरू (जस्तैः नाम, पासवर्ड, आदि) भरेर क्रियट बटनमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले दिनुभएको फोन नम्बर वा इमेलमा एउटा भेरिफिकेसन कोड आउँछ ।
त्यो राखेर अकाउन्ट भेरिफाई गर्नुभएपछि अकाउन्ट खुल्छ । निम्बज चलाउँदा निम्न कुरा थाहा पाउनुपर्ने हुन्छ ।
च्याटः यसमा तपाईंले आफ्नो साथीहरूसँग च्याट गर्न सक्नुहुन्छ ।
च्याट रुम्सः यसमा अन्य प्रयोगकर्ताहरूसँग च्याट गर्न सक्नुहुन्छ ।
सोसल मिडिया जोनः यसमा अन्य (आफूले समेत)ले सेयर गरेका स्टोरी, फोटो, भिडिओ हेर्न सक्नुहुन्छ । यसका साथै लाइभ स्ट्रिम अथवा भर्चुअल गिफ्ट समेत पाउन सक्नुहुन्छ ।
विटक
विटक पनि एक प्रकारको कल र मेसेज गर्न मिल्ने एप हो । यो ह्वाट्सएपकै सेवा भएको एउटा एप हो । यसलाई चलाउने प्रक्रिया निम्न छ ।
सबैभन्दा सुरुमा गुगल प्ले स्टोर अथवा एप स्टोरमार्फत यो एप डाउनलोड गर्नुहोस् । हरियो रङको पृष्ठभूमिमा सेतो रङको कल आइकन रहेको यसको लोगो रहेको छ ।
यसपछि एप खोलेर आफ्नो फोन नम्बर वा इमेल प्रयोग गरेर अकाउन्ट बनाउनुस् ।
कल गर्न वा मेसेज पठाउन तपाईंलाई क्रेडिट चाहिन्छ । एपभित्रबाटै विभिन्न प्याकेजहरू खरिद गर्न सकिन्छ । अथवा तपाईंले दैनिक चेक–इन गरेर वा साथीहरूलाई आमन्त्रण गरेर पनि निःशुल्क क्रेडिटहरू कमाउन सक्नुहुन्छ ।
क्रेडिट किनिसकेपछि तपाईंले सिधै नम्बर डायल गरेर वा आफ्नो फोनको कन्ट्याक्ट लिस्टबाट साथीको नम्बर छानेर कल वा मेसेज गर्न सक्नुहुन्छ ।
पोपोलाइभ
पोपोलाइभ एउटा लाइभ स्ट्रिमिङ प्लेटफर्म हो । यसबाट अरूसँग भिडियो कल गर्न, नयाँ साथीहरू बनाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ । यो चलाउन तलको प्रक्रिया अपनाउनुहोस्ः
एप स्टोरमार्फट एप डाउनलोड होस् । यसमा तपाईंले आफ्नो फोन नम्बर, इमेल वा अन्य सामाजिक सञ्जाल (जस्तैः गुगल अकाउन्ट) प्रयोग गरेर अकाउन्ट बनाउन सक्नुहुन्छ ।
यसपछि आवश्यक जानकारी (जस्तैः प्रयोगकर्ताको नाम) भर्नुहोस् र तपाईंको अकाउन्ट तयार हुनेछ ।
तर, यसमा लाइभमा जानुअघि केही कुराहरूको आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । त्यो तह पार गरेपछि लाइभमा जान सक्नुहुन्छ । जहाँ तपाईंले भर्चुअल गिफ्ट पाउन सक्नुहुन्छ । लाइभमा बसेका अन्य प्रयोगकर्ताहरूसँग कुराकानी गर्न सक्नुहुन्छ । – अनलाइन खबरबाट







