विराटनगरः कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले कात्तिक २५ गतेबाट लागू हुने गरी भाषासम्बन्धी कानुन निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसर पारेर लागू गर्ने गरी भाषासम्बन्धी कानुन निर्माण गर्ने निर्णय गरेको छ । ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति दिइएको हो ।
भाषा आयोगले कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको थियो । सोही अनुसार सरकारले विधेयक तयार गरेको हो ।
कोशी प्रदेशमा प्रतिपक्षी दलका सांसदहरूले भाषासम्बन्धी विधेयक दर्ता गरे पनि त्यो विधेयक अघि बढेको छैन । सरकारले प्रतिपक्षीको विधेयकलाई छाडेर छुट्टै विधेयक ल्याएको हो ।
विधेयक पारित भएपछि प्रदेशमा नेपाली भाषाका अतिरिक्त लिम्बू भाषा र मैथिली भाषाले पनि सरकारी कामकाजको मान्यता पाउनेछन् ।







