विराटचोकः आजदेखि स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन हुन लागेको हो । लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।
पहिलो चरणमा लघुवित्तले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
सो आईपीओको निष्काशन बन्द छिटोमा भदौ ३ गते हुनेछ भने ढिलोमा भदौ १३ गते हुनेछ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत् आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।







