उर्लाबारीः मोरङको उर्लाबारी–१ स्थित आधारभूत स्वास्थ्य केन्द्रले सुरक्षित प्रसूति सेवा, सुत्केरी स्याहार र नवजात शिशु हेरचाहमा सुधार ल्याउने उद्देश्यले गर्भवती शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा सिनियर अनमी कामना गौतमले गर्भावस्थामा हुने खतरा, पोषण, सरसफाइ, नियमित जाँच, खोप र औषधिको महत्वबारे सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा मनोरञ्जनात्मक खेलमार्फत् तीन जना गर्भवती आमालाई पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा पहिलो हुनेलाई घडी, दोस्रोलाई भित्ते घडी र तेस्रोलाई सरसफाइ सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख मीना खतिवडा पौडेलले वर्षायाममा पनि जनचेतनामूलक कार्यक्रम जारी रहेको बताउनुभयो । वडा सदस्य गौरीशंकर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गर्भवती महिलाका साथै महिला स्वास्थ्य स्वयम्सेविकाहरुको पनि उपस्थिति रहेको थियो ।







