विराटचोकः सुन्दरहरैंचा नगरपालिकालाई बालमैत्री पालिका बनाउने क्रममा पूर्वतयारी तथा सबै वडामा अभिमुखीकरण गर्ने कार्यमा पकली टेक्नोलोजी इन्स्टिच्युट प्रालि इटहरीले आवश्यक सहजीकरण गरिरहेको छ ।
सुन्दरहरैंचा नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत बजेट कार्यक्रमअन्तर्गत बालमैत्री कार्यक्रम सञ्चालन पूर्व तयारी तथा कार्यान्वयनका लागि अभिमुखीकरण कार्यक्रम भइरहेको हो ।
सुन्दरहरैंचा नगरपालिका तथा नगरपालिकाभित्रका १२ वटै वडाहरूमा बालमैत्री कार्यक्रम सञ्चालन पूर्व तयारी तथा कार्यान्वयनका लागि वडाभित्रका सरोकारवाला व्यक्तिहरूलाई अभिमुखीकरणसम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरिएको टेक्नोलोजीका सञ्चालक बलराम दाहालले जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत अभिमुखीकरणसम्बन्धी कार्यशाला गोष्ठी, बालमैत्री स्थानीय शासन वडा समिति गठन तथा वडामा रहेका बाल क्लबहरूको अवस्थाको अनुगमन गर्ने गरिएको छ । हरेक वडामा वडाध्यक्षको अध्यक्षतामा वडाका सबै जनप्रतिनिधि सदस्य रहने गरी समिति निर्माण गर्ने गरिएको छ ।
त्यस्तै, वडामा रहेको स्वास्थ्य संस्थाका प्रमुख, महिला र बालबालिकाको क्षेत्रमा कार्यरत स्थानीय गैरसरकारी संघसंस्था वा सामुदायिक संस्था वा टोल विकास संस्था मध्येबाट वडाध्यक्षले मनोनयन गरेका २ जना प्रतिनिधि सदस्य, वडामा रहेका विद्यालय वा स्वास्थ्य व्यवस्थापन समिति मध्येबाट वडाध्यक्षले मनोनयन गरेको प्रतिनिधि ३ जना सदस्य रहनेछन् ।
त्यस्तै, वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका, वडास्तरीय बाल सञ्जालका अध्यक्षसहित २ जना (कम्तीमा १ जना बालिका) सदस्य रहने सो समितिमा वडा सचिव सदस्य सचिवका रुपमा रहनुहुने गरी कार्यसमिति निर्माण गरिने भएको छ ।
सो समितिले आवश्यकताअनुसार सम्बन्धित क्षेत्रका विज्ञ तथा संस्थाका प्रतिनिधिहरूलाई बैठकमा आमन्त्रण गर्न सक्ने कार्यविधि रहेको छ ।
पूर्वतयारीका क्रममा बाल क्लब क्रियाशील रहे नरहेको बुझ्ने तथा आवश्यकताअनुसार क्रियाशील गराउनुका साथै गठन र पुनर्गठन गर्ने गरिएको छ । बालमैत्री कार्यक्रम सञ्चालन पूर्व तयारी तथा कार्यान्वयनका लागि सुन्दरहरैंचाका ७ वटा वडामा अभिमुखीकरण सम्पन्न भइसकेको नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उपशाखा प्रमुख गुणनिधि दाहालले जानकारी दिनुभयो ।
बाँकी वडामा अभिमुखीकरण सकिएपछि नगरपालिकामा एक दिन कार्यक्रम गरेर पूर्वतयारीको प्रतिवेदन प्रस्तुत गरिने भएको छ ।







