सुन्दहरैंचाः दोस्रो पटक पलेँटी साँझमा प्रस्तुत हुन विराटचोक आएका गायक दीप श्रेष्ठलाई नझरेका फूलहरूले सम्मान गरेको छ । श्रेष्ठको ७३ औँ जन्मोत्सवका अवसरमा अयोजित ‘जन्मोत्सव विशेष पलेँटी साँझ’ कार्यक्रममा श्रेष्ठ सम्मानित भएका हुन् ।
४० औँ शृङ्खलाअन्तर्गत नझरेका फूलहरूले आयोजना गरेको पलेँटी साँझ कार्यक्रमको संयोजक सुन्दरहरैँचा ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ रहेका थिए । कार्यक्रमका प्रस्तोता केपी घिमिरेलाई यस्ता कार्यक्रमले स्थानीय सर्जक तथा कलाकारलाई समेत प्रेरणा मिल्ने बताए ।
कार्यक्रममा गीतकार शिवशंकर थापालाई पनि नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा दीप श्रेष्ठले आफ्नो जन्मोत्सवका लागि तयार पारिएको केक काटेर सहभागी सम्पूर्ण दर्शकलाई आफैँले बाँडेका थिए । उपस्थित सहभागीले गायक श्रेष्ठलाई खादा, दोसल्ला, मायाको चिनो प्रदान गरेर जन्मोत्सवको शुभकामना दिएका थिए ।
कार्यक्रममा काठमाडौंबाट आएका सङ्गीतकर्मीहरू विक्रम कार्की (रिदम गितार), माणिकमान सिंह (बेस गितार), रुपेश सिंह (अक्टोप्याड) र राहुल भुजेल (किबोर्ड) ले गायक श्रेष्ठलाई वाद्यवादनमा साथ दिएका थिए । उनीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
दीप श्रेष्ठकी छोरी दृष्टि श्रेष्ठ, नाति रोनिश श्रेष्ठ, लोकप्रिय गायक तथा सङ्गीतकार कृष्णभक्त राई, धरानका गायक कृष्णराजा श्रेष्ठ, सुन्दरहरैँचाकी गायिका अनु बुढाथोकी गिरी र डेनिश श्रेष्ठले पनि गीत प्रस्तुत गरेका थिए ।
भानुसाझा पुस्तकालयका साहित्यिक सचिव गीताप्रसाद श्रेष्ठले दीप श्रेष्ठका निम्ति जन्मोत्सव विशेष गजल वाचन गरेका थिए ।