धरान: ‘लक्ष्मी सडकका कविता २०८३’ विमोचन गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्तीका अवसरमा धरानमा आयोजित कार्यक्रममा देवकोटाको साहित्यिक योगदानमाथि परिचर्चा गर्नुका साथै दुई जना स्रष्टालाई सम्मान पनि गरिएको छ ।
प्रधान सम्पादक शङ्कर भण्डारीले साहित्यिक सिर्जनाको संरक्षण, नयाँ प्रतिभाको प्रोत्साहन र साहित्यिक चेतना अभिवृद्धिमा यस्ता प्रकाशनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । महाकवि देवकोटाको साहित्यिक योगदानबारे पनि उहाँले चर्चा गर्नुभएको थियो ।
लक्ष्मी वाचनालयको स्थापनाको प्रसङ्ग उल्लेख गर्दै उनले महाकवि देवकोटाको निधनपछि उत्पन्न साहित्यिक शून्यतालाई सिर्जनात्मक प्रयासमा रूपान्तरण गर्ने सामूहिक सोचबाट वाचनालय स्थापना भएको जानकारी दिनुभयो ।
कार्यक्रममा स्वर्गीय स्रष्टा राजेन्द्रबहादुर थापालाई मरणोपरान्त सम्मान गरिएको थियो । उनको सम्मान छोरा वीरेन्द्र थापाले ग्रहण गरेका थिए । त्यसैगरी अर्का स्रष्टा भरतमणि भट्टराई (सेर्नाली) लाई पनि सम्मान गरिएको थियो ।





