खेमचन्द्र अधिकारी
गछिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । नेतृत्व आफ्नो हातमा पार्न ४ जना उम्मेद्वार अध्यक्ष पदको लागि चुनावी मैदानमा खडा भएका छन् ।
नेपाली कांग्रेसले समर्थन गरेको प्यानलको नेतृत्व रामबहादुर सेलुवालले गर्नुभएको छ । नेकपा एमाले समर्थित उम्मेद्वारको रुपमा उमेश वस्ती हुनुहुन्छ । चुनावी मैदानमा २ वटा प्यानल स्वतन्त्रको छ । नवीन दाहाल र बाबुकृष्ण दाहालको नेतृत्वमा दुई अलगअलग प्यानल चुनावी मैदानमा खडा भएका छन् ।
सहमतिको प्रयास असफल भएपछि निर्वाचन
सो खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपभोक्ता सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ४ का बासिन्दा छन् । १ हजार उपभोक्ता रहेको सो खानेपानीको नयाँ नेतृत्व वर्तमान अध्यक्ष हरिनारायण चौधरीलाई दिने एक किसिमको सर्वदलीय सहमति भए पनि अन्तिम समयमा सहमति हुन नसकेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको हो ।
नेपाली कांग्रेसका कार्यकर्ता चौधरीलाई अध्यक्ष पद दिएर उपाध्यक्ष पद एमालेलाई, सचिव पद नेकपा माओवादी केन्द्रलाई, सह सचिव र कोषाध्यक्ष पद राप्रपा र रास्वपालाई दिने प्रयास असफल भएको थियो । कार्यसमिति र लेखा समितिमा पनि दलीय आधारमा पद बाँडफाँड गरेर पूर्णता दिने प्रयास असफल भएपछि नेतृत्व चयनको जिम्मा उपभोक्ताले पाएका हुन् ।
कांग्रेसमा उम्मेद्वार चयनमा समस्या, रुष्ट उपभोक्ताले स्वतन्त्रलाई मत दिने
चुनावी प्रक्रियामै जाँदा पनि नेपाली कांग्रेसले वर्तमान अध्यक्ष हरिनारायण चौधरीलाई नै उम्मेद्वारको रुपमा अघि सारेको थियो । तर अन्तिम समयमा चौधरीलाई कांग्रेसले उम्मेद्वारको रुपमा अघि नसारेपछि निवर्तमान वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको नाम प्रस्ताव गरिएको थियो । श्रेष्ठको नाममा पनि सहमति नभएपछि सेलुवालको नेतृत्वमा उम्मेद्वारी दिने पार्टीले निर्णय गर्याे ।
सो निर्णय चित्त नबुझेका उपभोक्ताले सेलुवाललाई मत दिने सम्भावना कम रहेको छ । रुष्ट कांग्रेस समर्थकको मत स्वतन्त्र उम्मेद्वार दाहालद्वयलाई बाँडिने अनुमान गरिएको छ ।
वस्तीमाथि पदलोलुपताको आरोप
नेकपा एमालेले अघि सारेका उम्मेद्वार उमेश वस्तीमा पदलोलुपता रहेको उपभोक्ता बताउँछन् । बलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वस्ती सहकारीको जिल्ला समितिमा पनि हुनुहुन्छ । कामभन्दा बढी पदमा लोभ गर्ने मानसिकता वस्तीमा देखिएकाले एमाले समर्थककै मत पनि नपाउने डर एमालेभित्रै छ ।
विदेश जाने मानसिकताका स्वतन्त्र उम्मेद्वार नवीन दाहाल
नेपाली कांग्रेसकै असन्तुष्ट पक्षले अघि सारेका अर्का उम्मेद्वार नवीन दाहाल विदेशिने तयारीमा भएको बताइन्छ । केही समय अघिसम्म आफूले गरिरहेको व्यावसायिक कृषिकर्म छोडेर वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको बेला चौधरी र श्रेष्ठको नाममा सहमति नभएपछि रुष्ट भएका कांग्रेसकै कार्यकर्ताले दाहाललाई उम्मेद्वारको रुपमा अघि सारेको बताइन्छ ।
सबैका प्रिय बाबुकृष्ण
अर्का उम्मेद्वार बाबुकृष्ण दाहाल सबैका प्रिय व्यक्तिका रुपमा चिनिनुहुन्छ । उहाँलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसमर्थित कार्यकर्ताले निष्ठावान समाजसेवीका रुपमा मान्छन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भए पनि मुख्य पदमा हालसम्म नपुगेका दाहाललाई अरु तीन वटा प्यानल समर्थक मतदाताले पनि सघाउने अनुमानका कारण अरु तीन वटै प्यानलका उम्मेद्वार बाबुकृष्णको पक्षमा जीत हुने हो कि भनेर सशंकित पनि देखिन्छन् ।
सलकपुर खानेपानीको नतिजाको असर
अघिल्लो साता सलकपुर खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको निर्वाचन भएको थियो । सो निर्वाचनमा स्वतन्त्र उम्मेद्वारले अध्यक्ष, सचिव, सहसचिवजस्ता मुख्य पदमा जीत हासिल गरेका थिए । सो जीतको प्रभावका कारण पनि स्वतन्त्र उम्मेद्वारलाई मत जाने हुनाले सामाजिक व्यक्तित्वका रुपमा चिनिएका व्यक्ति बाबुकृष्ण दाहालको पक्षमा मतदान हुनेमा सो प्यानल ढुक्क देखिन्छ ।







