विराटचोकः आजदेखि ट्रेड टावर लिमिटेडले प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा जेठ १९ गते हुनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २८ गतेसम्म लम्बिने शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।







