विराटचोकः नेपालमा हरेक वर्ष जेठ १५ गते संघीय सरकारले बजेट प्रस्तुत गर्दछ । प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० सम्ममा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
बजेटकै प्रसङ्गमा विश्वमा सबैभन्दा लामो र छोटो बजेट भाषणको रेकर्ड भारतीय अर्थमन्त्रीहरुको नाममा छ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२० मा २ घण्टा ४२ मिनेट लामो बजेट भाषण गर्नुभएको थियो । जुन अहिलेसम्मको विश्व इतिहासकै सबैभन्दा लामो बजेट भाषण मानिन्छ ।
त्यस्तै सबैभन्दा छोटो बजेट भाषण सन् १९७७ मा भारतीय अर्थमन्त्री हिरुभाई मुल्जिभाई पटेलले गर्नुभएको थियो । अन्तरिम बजेट भाषण जम्मा ८०० शब्दको थियो, जुन विश्व इतिहासकै सबैभन्दा छोटो बजेट भाषण हो । सो बजेट भाषण भूमिकासहित बढीमा १० मिनेट लामो भएको बताइए पनि यति नै लामो थियो भनेर किटान गरेको पाइँदैन ।
पटेलले सार्वजनिक गरेको बजेट भाषण प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकाल असफल भएपछि मोरारजी देसाईको नेतृत्वमा बनेको नयाँ सरकारको अन्तरिम बजेट थियो । परिस्थिति विशेष भएकाले त्यतिबेलाको बजेट भाषण अत्यन्त संक्षिप्त र आवश्यक खर्च तथा राजस्व व्यवस्थापनमा केन्द्रित थियो । बजेट भाषणमा अधिकांश प्रावधानहरु पूर्व सरकारले लिएको नीतिहरुलाई समावेश गरिएको र केही नयाँ नीतिहरुको मात्र विश्लेषण गरिएको थियो ।







