विराटचोकः बुधबार मोरङको सुन्दरहरैँचा नगरपालिकामा स्थानीय विपद् व्यवस्थापनका लागि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । आवासका लागि सहयोग समूह (लुमन्ती)को आयोजनामा बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नगरपालिकाको सहकार्य र (एमआइएसइआरईओआर) को सहयोग रहेको थियो ।
कार्यक्रममा नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिहरूबीच आपसी समन्वय तथा जोखिम न्यूनीकरणका उपायहरूबारे अन्तरसंवाद गरिएको थियो । लुमन्तीकी फिल्ड संयोजक लक्ष्मी राईले विपन्न तथा सीमान्तकृत समुदायहरूमा पर्ने विपद् जोखिम र तिनको अवस्थाबारे प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख अकली चौधरीले यस्ता अन्तरसंवाद कार्यक्रमले स्थानीय सरकारलाई नीति निर्माणमा सहयोग पुग्ने र विपद् पीडितहरूको अवस्थाबारे वास्तविक जानकारी प्राप्त हुने बताउनुभयो । उहाँले अझै विपद् व्यवस्थापन समिति गठन नभएका वडाहरूमा चाँडै समिति गठन गर्न आग्रह समेत गर्नुभयो ।
विपद् व्यवस्थापन शाखा प्रमुख वासुदेव अधिकारीले नगरपालिकाले विपद् क्षेत्रमा गरेका कार्य, नीतिगत पहल, समितिका अधिकार र कर्तव्यहरूबारे विस्तृत जानकारी दिनुभएको थियो ।
सशस्त्र प्रहरी बल, लक्ष्मीमार्गका डीएसपी कमलबहादुर अधिकारीले विपद्को समयमा प्रयोग हुने सामग्री, तिनको व्यवस्थापन र नागरिकको जनधनको सुरक्षाबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले कटान, डुवानजस्ता क्षेत्रमा नगरपालिकाले विशेष चासो दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले बर्खाको समयमा राजमार्गको उत्तर क्षेत्रमा डुवानको समस्या हुने भएकाले एसियन हाईवे निर्माण गर्दा थुनिएको पानीको निकास खुला गरिनुपर्ने माग राखेका थिए ।
वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक भुवनसिंह मगरले खोला आसपास जथाभावी उत्खनन र तटीय क्षेत्रमा बस्ती बसाइँ बढ्दै जाँदा थप जोखिम उत्पन्न भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष, सदस्यहरू, विपद् व्यवस्थापन समितिका सदस्यहरू तथा विपद् क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।







