विराटचोकः वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेअनुसार बैंकहरुको जेठ महिनाको औसत ब्याजदर, बैशाखको तुलनामा सामान्य घटेको छ ।
वाणिज्य बैंकहरुको बैशाख महिनामा ५.९७९ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औसत जेठ महिनामा घटेर ५.९५२ प्रतिशतविन्दुमा झरेको छ ।
१४ बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ ओटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ ओटाले बढाएका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी (१ प्रतिशतविन्दु) ब्याजदर घटाएको छ । बैशाख महिनामा ६.५ प्रतिशत रहेको यस बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, जेठमा ५.५ प्रतिशतमा झरेको छ ।
सिद्धार्थ बैकले यस्तो निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएको छ भने कुमारी बैंकले ०.०१ प्रतिशतविन्दु घटाएको छ ।
सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन् ।







