गलकोटः गाउँपालिकाको ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने १७८ जना किसानलाई पोषणभत्ता वितरण गरेको छ ।
खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ८ लाख ९० हजार पोषणभत्ता दिइएको पालिका अध्यक्ष राजु थापाले बताउनुभयो । पालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई पाँच हजारका दरले पोषणभत्ता प्रदान गरिएको उहाँले बताउनुभयो ।
आधुनिकताको नाममा मिनी टिलर हलो वितरण हुन थालेपछि परम्परागत गोरुपालक किसानलाई समस्यामा परेको महसुसपछि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।
काठेखोला गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि दूधमा समेत अनुदान दिन थालेको छ ।







