Friday, December 5, 2025
Homeअर्थ३ विकास बैंक र २ फाइनान्स कम्पनी परे कारवाहीमा

३ विकास बैंक र २ फाइनान्स कम्पनी परे कारवाहीमा

विराटचोकः नेपाल राष्ट्र बैंकले ३ विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, जानकी फाइनान्स र पोखरा फाइनान्स कारवाहीमा परेका हुन् ।

स्थलगत निरीक्षणको क्रममा मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएपछि राष्ट्र बैंकले सचेत गराएको हो ।

त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले न्यूनतम चुक्ता पूँजी र पूँजीकोष अनुपात कायम नगरेको, तोकिएको सीमाभन्दा बढी निक्षेप सङ्कलन गरेको तथा एकल ग्राहक कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह गरेको भन्दै केन्द्रीय बैंकले नारायणीको सञ्चालक समितिलाई न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष अनुपात २०८२ असार मसान्तभित्र अनिवार्य कायम गर्न र निर्देशनहरु पालना गर्न लिखित आदेश दिएको छ ।

सालपा विकास बैंकले पनि तोकिएको न्यूनतम चुक्ता पूँजी हालसम्म पनि कायम नगरेको तथा तोकिएको चुक्ता पूँजी पुर्याउनका लागि दिइएका निर्देशनहरु पनि पालना नगरेको बताएको छ । यसका लागि सालपाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) खण्ड (क) बमोजिम केन्द्रीय बैंकले नसिहत दिएको छ ।

राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सलाई न्यूनतम पूँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरेको हो ।

पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै ५ लाख रुपैयाँ जरिवाना पनि गरेको छ । पोखरा फाइनान्सले अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा ४६ हजार ७१८ रुपैयाँ २३ पैसा जरिवाना पनि तिर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments