गछियाः मोरङको सुन्दरहरैंचा–३ स्थित लक्ष्मीनारायण मन्दिरको भवनमा नागरिक आरोग्य सेवा केन्द्रको सेवा शुरु भएको छ । सेवा केन्द्रको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई र विशिष्ट अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा गर्नुभएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको आयोजनामा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित सञ्चालन गरिएको सो सेवा केन्द्रको सञ्चालनमा नगरपालिकाले समन्वय गरेको छ । आयुर्वेदिक उपचार प्रदान गर्नका लागि सञ्चालन गरिएको सो केन्द्रले नागरिकहरूलाई स्वास्थ्य सेवामा टेवा पुर्याउने विश्वास लिइएको छ ।
सेवा केन्द्रको उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा. रामप्रमोद चौधरीले गर्नुभएको थियो ।







