सलकपुरः आफ्नो जन्मदिनको दिन चैत ८ गते मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा आएर मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिलकुमार शर्माले आफूले भ्रष्टाचार नगर्ने बताउनुभएको छ ।
सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १७ औँ वार्षिक साधारणसभामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि भन्नुभयो, ‘तपाईँहरूको बीचमा म एउटा प्रतिबद्धता जाहेर गर्न चाहन्छु । तपाईँहरूले दिनुभएको अमूल्य मतद्वारा निर्वाचित भएर गएको म तपाईँहरूको भाइ, तपाईँहरूको छोरो, तपाईँहरूको भतिजो, तपाईँहरूले जिताएर पठाएको यो कार्यकालभित्र तपाईँहरूले सुनिल शर्माले घुस खाए अरे, सुनिल शर्माले तलब खाए अरे, सरकारको ढिकुटीबाट पैसा लिएर मोज गरिरहेका छन् अरे अनि भ्रष्टाचार गरे अरे भन्ने तपाईँहरूले कदापि सुन्न पाउनुहुन्न । यो म भगवान् श्रीकृष्णका नाममा तपाईहरूका अगाडि फेरि कसम खान चाहन्छु ।’
‘कसरी सदनहरू चल्दा रहेछन्, कसरी सरकारहरू चल्दा रहेछन् भन्ने एउटा अवसर प्राप्त भयो’, सदन र सरकार कसरी चल्छ भन्ने जानकारी दिँदै उहाँले भन्नुभयो, ‘देशभरबाट जानुभएका ९८ प्रतिशत सांसदहरूले आफ्नो क्षेत्रको निम्ति राम्रो सोच्नुहुन्छ । तर केही मुठीभर मान्छेले सत्तालाई क्याप्चर गरेर बसेका छन् । तिनीहरूको वरीपरी सबै तालाचाबी, ढिकुटी, भकारी छ । त्यो नियन्त्रित छ । त्यहाँबाट केही निकाल्न पाइँदैन । बडो दुर्भाग्य छ । यद्यपि हामी लडिरहेका छौँ ।’