दुलारीः बौद्धिक अपाङ्गता अभिभावक संघ मोरङको आयोजनामा अपाङ्गता भएका बालबालिकाका अभिभावकका लागि सचेतना तालीम सम्पन्न भएको छ ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ को सभाहलमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले अभिभावकमा कानुनी तथा अन्य जानकारी दिन यस्ता कार्यक्रम सहायक हुने बताउनुभयो ।
नगरले चालु आर्थिक वर्षमा साङ्केतिक भाषा सहजकर्ता (दोभाषे) का लागि तालीमको आयोजना गर्न लागेको उहाँले बताउनुभयो । सुन्दरहरैंचा नगरपालिकाले साजीलाल मावि र सुकुना माविमा सञ्चालित अपाङ्गता भएका बालबालिकालक्षित विशेष शिक्षा कार्यक्रमका लागि तीनतीन लाख रुपैयाँ विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकका लागि सन्तोष पण्डितले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।
आयोजक संस्थाकी अध्यक्ष उर्मिला सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।







