विराटचोकः पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगद्वारा प्रकाशित विज्ञापनको सन्दर्भमा असहमति जनाउँदै नेपाल विद्यार्थी संघले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगमा गरेको तालाबन्दी अझै खुलेको छैन ।
फागुन १७ गते लगाइएको सो तालाबन्दीको विषयमा केही दिन अघि नेपाल विद्यार्थी संघले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराए पनि सम्बन्धित पक्षले अझै पनि चासो नदिएको बताएको छ ।
विश्वविद्यालयले वि. संं २०७८ मा संशोधित नयाँ नियमावलीअनुसार विज्ञापन नखुलाई वि. सं. २०७३ सालमा पारित पुरानै नियमावलीमा आधारित मापदण्डमा रहेर विज्ञापन खुलाएकाले ताला लगाउनुपरेको नेवि संघले जनाएको छ । संशोधित नियमावली अनुरुप शिक्षक छनोट एवं पदोन्नति प्रक्रिया एव कार्यप्रणाली निर्माण गरी त्यसको आधारमा मात्र शिक्षकको आन्तरिक र खुला प्रतियोगिताका लागि विज्ञापन खुलाउनुपर्ने माग नेवि संघले अघि सारेको छ ।
संंशोधित नियमावलीअनुसार कार्यकारी परिषदले शिक्षक छनोट तथा पदोन्नति प्रक्रिया एव कार्यप्रणाली बनाउनका लागि विज्ञहरुको समिति निर्माण गरी सो समितिले दिएको प्रतिवेदन सुझावको लागि सेवा आयोगमा पठाए पनि सो प्रतिवेदन पनि लत्याइएको आरोप नेवि संघले लगाएको छ । संशोधित नियमावलीमा उप–प्राध्यापक पदमा विज्ञापन गर्दा शतप्रतिशत खुला प्रतिष्पर्धा हुनुपर्नेमा आन्तरिक प्रतिष्पर्धा गराउन लागिएको नेवि संघले जनाएको छ । विश्वविद्यालयमा भएका सबै शिक्षक प्राध्यापक भएर मात्रै सेवा निवृत्त हुने गरी पुरानै नियमावलीअनुसार गरिएको विज्ञापन रद्द गर्न नेवि संघले माग गरेको छ ।







