खेमचन्द्र अधिकारी
कुराउनी कोसेलीका रुपमा प्रयोग गरिँदै आइएको खाद्यपदार्थ हो । पहिले प्लाष्टिक बन्द पत्रु खाना (जङ्क फुड) ले राज नगरेसम्म बाटो हिँड्दा, घरमा वा अन्य समयमा पनि कुराउनी र चिउरा मुछेर खाने चलन पनि थियो ।
धेरै मानिसका जिब्रोमा झुण्डिएको त्यही कुराउनीको स्वादलाई सम्झँदै वि. सं. २०२१ सालमा धनकुटाका कवि धरणीधर गुरागाईँले आफ्ना रचनाहरुको सङ्गालो ‘कुराउनी’ नाम दिएर प्रकाशन गर्नुभएछ । पछिल्लो समयमा प्रकाशन हुने धेरै कवितात्मक कृतिको नाम सोही कृतिभित्रको एउटा रचनालाई लिएर राखिएको हुन्छ । यस कृतिमा भने त्यस्तो पाइँदैन । कृतिभित्र कुराउनी शीर्षकमा रचना समावेश भएको छैन । कृतिभित्रको भाव समेटिने गरी कृतिको नामकरण कुराउनी राखेको पाइन्छ ।
कुराउनी पकाउन सजिलो छैन । अहिले प्रेसर कुकर वा राइस कुकुरमा भात पकाएजस्तो सजिलो छैन कुराउनी पकाउन । दाउरा कस्ता बाल्ने, आगो कत्रो बाल्ने, कस्तो भाँडो (कुँडे) मा तताउने, अन्तिम अवस्थामा कति समय घोट्नेलगायतका प्राविधिक विषय कुराउनी पकाउँदा जान्न आवश्यक हुन्छ । यहाँ कृतिकारले पनि यसरी सबै विषय पर्गेलेर साहित्यिक कुराउनी पकाएको आभास हुन्छ ।
कृतिभित्र २२ वटा रचना छन् । ती रचना देशभक्तिपूर्ण, आध्यात्मिक भावयुक्त, समसामयिक नेपालको चित्रण भएका, पर्यटकीय चेतयुक्त, विकृति र विसङ्गतिविरुद्ध प्रहार भएका, नारी जागरण र किसान तथा श्रमिक जागरणले ओतप्रोत भएका रचना कुराउनीभित्र पाइन्छ ।
कृतिभित्रको पहिलो कविता ‘नेपाल’ मा पुर्खाको अदम्य साहसको वर्णन गरिएको छ ।
मैदान हाम्रा नेपाल, पहाड हाम्रै नेपाल
जन्मभूमि हाम्रो यो चोखो राम्रो विशाल
संसारको गुरु यो नेपालीको स्वर्ग यो
हाम्रा त्यागी पुर्खाले बनाएको नेपाल हो ।
‘तीर्थ’ शीर्षकको कवितामा नेपालभित्रका पवित्र तीर्थस्थलको वर्णन गरिएको छ ।
भीर, थुम्का पहाड र मैदानमा सम्म
देशभरी आधा पहाड, आधा मैदान टम्म
धनकुटा र पाल्पाभन्दा तेह्रथुम राम्रो
पोखरा र प्युठान त्यस्तै इलाम झन राम्रो ।।
‘भगवान् बुद्ध’ शीर्षकको कवितामा बुद्धको महिमा गाइएको छ ।
यातायातको थिएन साधन तैपनि संसार
पढाइदियौ समानताको उज्ज्वल प्रचार
पागल भएको विश्व सम्हाल्यौ ए विश्वप्रतीक
‘दुई ढुंगाको तरुल’ शीर्षकको कवितामा नेपालमाथि हस्तक्षेप नगर्न छिमेकी देशलाई चेतावनी दिइएको छ । नेपालमाथि हस्तक्षेप हुन खोजेमा तरुल निकाल्दा त्यसलाई च्याप्ने ढुङ्गा फोरेको हालत हुन सक्छ भनेर गतिलो झापड उहाँले सो कवितामा दिनुभएको छ ।
दुई ढुङ्गाबीचको त्यो तरुललाई जस्तै
झिक्नुपर्दा दुवै ढुङ्गा फोर्नुपर्छ तेस्तै
नेपालमा हस्तक्षेप गर्न कठिन पर्ला
हाइड्रोजन कक्रिएला अनि कसो गर्ला
विश्व नै डराउँछ हाम्रो नेपाल बलियो देखेर
मुलुकी कृषि ऐन लागू नभएकोमा उहाँले ‘रोपाञी’ शीर्षकको कवितामा दुःख व्यक्त गर्दै सो ऐन लागू हुनुपर्नेमा जोड दिनुभएको छ ।
बाँडिने भए जमिन अब आफ्नैमा जोतौँला
असारे गीत गाउँदै खेत आफ्नैमा रोपौँला
मुलुकी कृषि अइन लागु गरन समाली
लेख्न र बोल्न पाएन भने बाँच्तैन नेपाली
‘देवकोटाको स्वर्गमा स्वागत’ शीर्षक कवितामा देवकोटाको सम्झना गरिएको छ ।
‘स्वर्ग’ शीर्षकको कवितामा नेपाललाई कसरी स्वर्ग बनाउन सकिन्छ भनेर उहाँले चिन्तन गर्नुभएको छ । यातायातको विकास गरी देशलाई विकासको पथमा हिँडाउन सकिने उहाँले यसरी व्यक्त गर्नुभएको छ ।
यातायात राम्रो हवस् डोको फाली दिनु
डोको बोक्नेहरुलाई दोस्रो काम दिनु
बाटा सबै पक्का बनुन स्कुल पुल मिल
हौँ नेपाली हामी सबै भन्ने हवस दिल ।।
‘हलो’ शीर्षकको रचना क्रान्तिको सशक्त नमूना भएको कविता हो । ब्राह्मण परिवारलाई हलो जोत्न आह्वान गरिएको सो गीति कवितामा हलो नजोते भोकै पर्न सकिने भने कर्मशील हुन आह्वान गरिएको छ ।
जिजुबाजेहरु अघि अर्कै हली लाउँथेँ
लाटा सोझा निकै थिए जोताउन पाउँथेँ
तेसो हुँदा जोत्न हुन्न भन्ने नीति रचे
अर्काे पाएसम्म आफू हली किन बन्थे
‘निम्तो’ शीर्षकको कवितामा परदेशिएका नेपालीलाई नेपाल फर्किएर श्रम गर्न आह्वान गरिएको छ ।
अमेरीका रुस पेरिस बर्माभन्दा राम्रो
हिमालको काखमा छ नेपाल यो हाम्रो
क्षति, नेवार, गुरुङ्ग, राई बाहुन लिम्बु आदि
तामाङ्ग थारु सबै एक छौँ छैन केही सादी
फिर ए प्रवासी साथी नेपालमै मिलेर बसौँला
‘काम र माम’ शीर्षकको कवितामा तत्कालीन राजा महेन्द्रको गुणगान गाइएको छ
यस्तो राजा पाउला कस्ले देशभक्त रैतीको पियारो
नेपालको इतिहासै नयाँ गराईकन
दलगत व्यक्तिगत स्वार्थ हटाइकन
एक कोटी नेपालीको मर्म बुझीकन
वैज्ञानिक तरिकाले देश बनाउने
बाटो खनेमात्रै देश विकास हुने र पूर्वको अनाज पश्चिमले तथा पश्चिमको उत्पादन पूर्वले खान पाउने हुनाले बाटो बनाउन आवश्यक रहेको भाव ‘मूल बाटो’ शीर्षकको कवितामा पाइन्छ ।
पोखराको सुन्तला विराटनगरले देख्नेछ
तेह्रथुमको मालिङ्गोले सप्तरीमा लेख्नेछ
खनौँ न बाटो खनाँै
नारीहरुले पाएको दुःखको कथा ‘गृह लक्ष्मी’ शीर्षकको कवितामा पाइन्छ । त्यो दुःख परिवार सपार्नलाई नै गर्नुपरेको हो भन्दै चित्त बुझाउनुपर्ने उहाँको भनाइ छ ।
धुरुधुरु रुँदी हौ बैनी तिमीमाथि को माया गर्छन् र ?
कोदालो र हँसियाले छाड्ने छैन कहिले
महल कै रानी हवस् सुख छैन कहिले
धम्की कच कच खानु पर्छ रातो दिन डरछ
अर्काे मर्दा आफु पनि ज्युँदै मर्नु पर्छ ।
‘चीन जाने बाटो’ शीर्षकको कवितामा नेपाल र चीनबीच रेल सेवा सञ्चालन गरी उताका सामान यता र यताका सामान उता लानुपर्ने भन्ने भाव व्यक्त गरिएको छ ।
बाटो बन्यो रेलि मै, चीन जाने अब
जान्छौँ हामी रेलि मै, हिमाल पर्तिर
गलैंचा र रेलि मै नून बोकीकन
उनिहरु रेलि मै आउँछन् ओर्तिर
ती चिनिया रेलि मै नखतै ल्याउँछन्
हामी दिन्छौं रेलि मै पटुवा चावल ।।
कवितामा धनकुटाका धार्मिक क्षेत्र मधु गङ्गा र छिन्ताङको वर्णन गरिएर लेखिएका कविता पनि छन् ।
भित्रमणी ईउँ होलान् भने जस्ता ढुङ्गा
प्राकृतिक सौन्दर्य छ बस्नलाई ढुङ्गा
हेरौँ हेरौँ लाग्छ रमित मधु गङ्गा धाम (मधु गङ्गा)
पवित्र भूमि रसिलो जग्गा सुन्तला सस्तो छ
ईश्वरको नै वरदानजस्तो यो ठाउँ देखिन्छ
खान नरुचे त्यो ठाउँमा पुग्दा छुद्दे नै फिर्दछ
निरोगी हावा, स्वादिलो पानी रमाईलो गिर्दछ । (छिन्ताङ)
‘ईश्वर के हो ?’ शीर्षकको कवितामा राम्रा काम गर्ने मानिस नै ईश्वर हुन् भन्ने भाव व्यक्त गरिएको छ । दुई श्लोकको यो कवितामा पहिलो श्लोकमा ईश्वरको परिभाषा दिइएको छ । दोस्रो श्लोकमा राम्रा काम गर्ने मानिस नै ईश्वर हुन् भनेर यसरी भनिएको छः
हाम्रो राम र कृष्ण बुद्ध कसरी संसारमै मानिए
पृथ्वी, भूमि र भानु आज कसरी द्यौता सरी ठानिए
आँटी तेन्जिङ वीर गागरिन ती मानिस नै हुन अरे
द्यौताले पनि गर्न मुश्किल कुरा मानिसलेनै गरे ।।
‘जन्म सिद्ध धन’ शीर्षकको कवितामा सगरमाथा र अन्य हिमाल नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो भनिएको छ ।
पहाड पानै मलिलो
मैदान पार्ने रसिलो
त्यो हिउँ हामी सबैको
जन्म सिद्ध धन हो ।
‘सानु टुकूरो’ शीर्षकको कवितामा पञ्चायती व्यवस्थाका शासकलाई अर्ती दिइएको छ ।
गाउँ पिच्छे, पञ्च दाई स्कूल खोल
काम गर्दा पञ्चदाई खुशीले हक बोल ।
अस्पताल पञ्च दाई बनाउनुपर्छ
पुलले पनि पञ्चदाई झन ठूलो काम गर्छ
अन्तिम कविता ‘पञ्चायती प्रजातन्त्र’ लोक भजनको लयमा रहेको छ । सो कवितामा पञ्चायतको गुणगान गाइएको छ । तीन श्लोकको कविताको अन्तिम श्लोकमा नारी जातिलाई समाजको उत्पीडनबाट माथि उठ्न आह्वान पनि गरिएको छ ।
मेचीदेखि काली सम्मै भन्थे पञ्चायत नारायण २ राम ३
गाउँको कुरो गाउँलेले सब जाने हुन्छ
गाउँमा घट्ने घटना सबै पैले उस्ले सुन्छ
स्वभावले शुभकर्म मानिसले गर्छ
आफ्नो देशको सेवा पनि आफैँ गर्नु पर्छ
हाम्रो नेपाल –नारायण– प्यारो लाग्छ
हामीलाई हाम्रो नेपाल ! राम राम राम







