विराटचोकः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा नेपालबाट ५ लाख १४ हजार ७१ जना र जापानबाट २९ जना विद्यार्थी सहभागी हुने भएका छन् । नेपाल बाहिर जापानबाट मात्र एसईई परीक्षा सञ्चालन हुँदैछ ।
बोर्डका अनुसार यस वर्ष देशभर २ हजार ८० र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । केन्द्रीय कारागार सुनधारा र दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सबैभन्दा धेरै काठमाडौंमा ३९ हजार ६०० जना परीक्षार्थी छन् । सबैभन्दा कम ४३ जना परीक्षार्थी मनाङ जिल्लाबाट सहभागी हुँदैछन् ।
बोर्डले परीक्षा व्यवस्थापनका लागि ३० हजार सुरक्षाकर्मीसहित ७७ हजार ८०० कर्मचारी परिचालित हुने जनाएको छ ।
पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।
चैत १९ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
२०८२ असार ७ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।







