गोठगाउँः ज्ञानज्योति इङ्लिस स्कुलको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा मङ्गलबार विभिन्न कार्यक्रम भएका छन् ।
नगर उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, वक्तृत्व, नाटकलगायतका कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि चौधरीले यस वर्ष नगरले ‘छात्रासँग उपमेयर’ कार्यक्रम संस्थागत विद्यालयमा आयोजना गरिने बताउनुभयो ।
नेपाली लोक तथा दोहोरी गीत गायन क्षेत्रमा विशेष योगदान दिएका गायक तथा विद्यालयका अभिभावक रमेश आचार्य तथा नेपाली लोक बाजा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका जंगबहादुर त्रिखत्रीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
अभिभावक दिवस तथा वार्षिकोत्सव कार्यक्रमलाई प्याब्सन मोरङ अध्यक्ष जगत बस्नेत, सुन्दरहरैंचा उपाध्यक्ष टीका पराजुली, वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगर, पूर्व वडाध्यक्ष चैतन्यप्रसाद सिटौला, सहकारी अभियन्ता रवीन्द्र आचार्य, शिक्षासेवी टोमबहादुर श्रेष्ठ, स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष चिरञ्जीवी सिवाकोटी, मेलमिलापकर्ता दुर्गा भट्टराई, शिक्षासेवी टोमबहादुर श्रेष्ठलगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा विज्ञान प्रदर्शनी, सांस्कृतिक भेषभूषा प्रदर्शनीका साथै शिक्षकको नृत्य पनि प्रस्तुत भएको थियो ।
सो विद्यालयकी विद्यार्थी संस्कृति दाहाल गत वर्षको एसईई परीक्षामा मोरङ जिल्ला प्रथम हुनुभएको थियो ।
विद्यालयका प्रिन्सिपल देवी सिटौलाको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक चुडामणि गौतमले सञ्चालन गर्नुभएको थियो ।








