विराटचोकः आज फागुन २७ गतेदेखि ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । शेयर बजारमा पहिलो औषधी कम्पनीको रुपमा ओम मेगाश्री सूचीकृत हुने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँड भइसकेको छ । ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ । बाँकी रहेको १४ लाख ७६ हजार कित्तामा आजदेखि सर्वसाधारणले खरीद आवेदन दिन पाउने भएका हुन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ बिक्री छिटोमा चैत ३ गते हुनेछ भने सो दिनसम्ममा सबै शेयर नबिकेमा चैत १२ गतेसम्म आवेदन दिन पाइने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् खरीद आवेदन दिन सक्नेछन् ।







