कृष्णप्रसाद देवकोटा
आख्यान विधाअन्तर्गत उपन्यास विधा पछिल्लो समयमा निकै चर्चित बन्दै गएको छ । आख्यानमा गद्य विधाको वृहत रूप उपन्यास हो । जगत् र जीवनका समग्र पक्षहरूलाई आख्यानात्मक विस्तार गर्नु उपन्यासको मुख्य विशेषता हो (नेपाल, २०७८) । लेखन आफैँमा जटिल कार्य हो त्यसमा पनि समाजको समग्र पक्षहरूलाई समावेश गरी अक्षरको सहायताले उपन्यासजस्तो बृहत कृति तयार पार्नु कठिन कार्य हो । यस्तो कठिन कार्य गर्ने साहस गर्नुभएको छ युवा साहित्यकार राजकुमार श्रेष्ठले ।
श्रेष्ठ करीब एक दशक अघि जागिरको सिलसिलामा दैलेख आउँदा उहाँसँग मेरो चिनजान भएको थियो । छोटो समयमै हामीबीचको मित्रता घनिष्ट बनेको थियो । जागिर सरुवा भएपछि उहाँ दैलेखबाट काठमाडांै गए पनि हाम्रो मित्रता भने झन् प्रगाढ बन्दै थियो । आफ्नो जागिरे जीवनको व्यस्त समयलाई पनि व्यवस्थापन गर्दै साहित्यिक क्षेत्रमा उहाँको लेखनी निरन्तर रहेको प्रमाण उहाँँको मुहारपुस्तिकाको भित्तामा निरन्तर आइरहने साहित्यिक रचनालाई लिन सकिन्छ । यसै क्रममा ‘रोयल चारघरे नामक उपन्यास तयार पारी दैलेख पठाएको छु’ भनी उहाँले पठाएको सन्देशले म हषर््िात बनेँ । पुस्तक प्राप्त गर्न आतुर भएर बसेको म देउती पुस्तक पसल दैलेखका प्रोप्राइटर मित्र हस्त शाहीले फोनमार्फत् दैलेखमा रोयल चारघरेको आगमन भएको जानकारी गराएपश्चात् पुस्तक प्राप्त गरी अध्ययन गर्ने अवसर पाएँ ।
परिचयः
‘रोयल चारघरे’ साहित्यकार राजकुमार श्रेष्ठद्वारा रचित एक उपन्यास हो । जनबिहानी प्रकाशनले बजारमा ल्याएको यो उपन्यासमा २१ परिच्छेद रहेका छन् । सबै परिच्छेदमा उल्लेख गरिएका शब्द र कथावस्तु उपन्यासको शीर्षकलाई न्याय दिन सफल छन् । उपन्यासको आवरणमा चित्रात्मक रूपमा चारघरेका गाउँबस्तीदेखि काठमाडौं शहरसम्मको परिवेशलाई चित्रण गरेको पाइन्छ । आवरणबाट पनि प्रष्ट हुन्छ कि यो उपन्यासमा धनकुटाको चारघरेदेखि काठमाडौं शहरसम्मको परिवेशमा भएगरेका यथार्थ घटना र परिवेशलाई समेटिएको छ । यसरी हेर्दा यो उपन्यास गाउँघरका, कुनाकन्दरादेखि शहरबजारसम्मका विभिन्न कथावस्तुको प्रतिनिधि उपन्यास हो ।
डा. रामकृष्ण आचार्यले सम्पादन गरी यस उपन्यासलाई थप ओजिलो बनाउनुभएको छ । उपन्यासकारले उपन्यासको सुरुवातीमा आफूलाई जन्म दिने आमालाई यस युगकी क्रान्तिकारी नारीको संज्ञा दिँदै आमाको चरणमा यो उपन्यास समर्पित गरेका छन् । उपन्यासकारको यो कदमले पनि यस उपन्यासभित्र आमाले आमा हुन र मातृत्वको जिम्मेवारी वहन गर्न लड्नुभएको युद्धरत जिन्दगीको यथार्थ कथा छ भनी अनुमान गर्न पाठकलाई कुनै गाह्रो छैन । यस उपन्यासको प्रथम अध्यायमा चारघरेको सामाजिक, आर्थिक तथा प्राकृतिक पक्षलाई एकदमै सुन्दर तरिकाले वर्णन गरिएको छ । प्रकृतिले मौसमअनुसार ल्याउने परिवर्तनसँगै चारघरेलाई घुम्टो ओढाएर त्यहाँका मेला पखेराहरूले चारघरेको रङ फेरिदिने र त्यही बदलिँदो मौसम र परिवेशसँगै उपन्यासकारले आफूले बिताएका बाल्यकालका दिनहरूको वर्णन गरेका छन् ।
अन्य अध्यायहरूमा अरुण र हाट, अनाम, इतिहास ढलेको दिन, हुम्बुङे बलि, मित साइनो, राजाको सवारी, कोइला, कन्तुर र सपना, घुमाउरा संयोग, ओइ उ….., जति देउराली उति पाती, जीवन शून्य हो, बिदाबा चलचित्र, गेट पार गरेपछि, रोयल पाटन, स्पर्श, विद्रोह, रोयल विलासपुर, प्रिय रारा, सेलरोटी फन्को तथा अन्तिम पृष्ठ रहेका छन् । कृतिका सबै अध्यायहरूलाई हेर्दा विभिन्न घुम्तीहरूमा घटनाहरूको संयोजन र कथावस्तुहरू एकआपसमा अन्तरसम्बन्धित रहेका छन् जुन रोयल चारघरेको सुन्दर पक्ष हो । माथि उल्लेखित अध्यायहरूमा उपन्यासकारले आफ्नो बालापनदेखि वर्तमानसम्म देखेभोगेका कुराहरूलाई बडो कलात्मक तरिकाले व्यक्त गरेका छन् । चारघरेको सेरोफेरो, घर धान्न आमाले गरेको सङ्घर्ष, हजुरबाको विरासत र दौँतरीको सम्बन्धलगायतको सामाजिक यथार्थलाई समेटिएको छ यस उपन्यासमा ।
कथावस्तु
यस उपन्यासमा उपन्यासकारले कुनै काल्पनिक कथावस्तुलाई जबरजस्त रूपमा समावेश गरेका छैनन् । उपन्यासकारले आफ्नो जन्मभूमि चारघरेदेखि नेपालको राजधानी काठमाडांैसम्मलाई बडो सुन्दर तरिकाले संयोजन गरेका छन् । यस उपन्यासमा नेपाली समाजको यथार्थ चित्रण गरिएको छ । गाउँघरमा मेला, अर्मपर्म गरी जीविकोपार्जन गर्ने, मेलापाखामा उकालीओराली गर्दै जीवनयात्रा तय गरेका नेपाली आमाहरूको कथा छ । त्यस्तै, घरव्यवहार धान्न घरिनाहरूलाई घरको जिम्मा लगाएर पुरुषहरू घरबाहिरको काममा तल्लीन हुनुपर्ने, हाटबजार तथा अन्य श्रम गर्दै घरको अस्तित्वलाई बचाइराख्न महिला र पुरुषबीचको आपसी समझदारी तथा सहकार्यको कथालाई यस उपन्यासले चित्रण गरेको छ । त्यस्तै घरमूलीको नाताले बा, हजुरबाहरूले घरको मूल खाँबोको रूपमा भूमिका निर्वाह गर्र्र्दै अनेक दुःख कष्ट सहँदै आफ्नो जिम्मेवारीबोध गर्न गरेका अलिखित सङ्घर्षको कथालाई पनि यस उपन्यासले चित्रण गरेको छ । आमा साँच्चै महान् शब्द हो । छोराछोरीको खुशीको लागि आफ्ना सारा खुशीहरूलाई तिलाञ्जली दिन सक्छन् आमाहरू । यस उपन्यासमा पनि आमाले घरव्यवहार चलाउन गरेको दुःखकष्टलाई वर्णन गरिएको छ । पाँच सन्तानको लालनपालनका लागि आमाले गरेको दुःख र सङ्घर्षलाई सम्पूर्ण आमाहरूको प्रतिनिधि पात्रका रूपमा व्याख्या गरेका छन् । आफ्नो सन्तानलाई सफल र सक्षम बनाउनका लागि आमाले कतिसम्म सङ्घर्ष गर्दछन् र आफ्ना भावी सन्ततिप्रति आमाको कति उत्तरदायी भूमिका हँुदोरहेछ भन्ने कुरालाई उपन्यासले प्रष्ट पारेको छ ।
नेपाली समाज वर्गका आधारमा विभाजित छ । अझै पनि समाजमा पछाडि पारिएका वर्ग तथा समुदायका मानिसहरू अनाम बनेर बाँच्न विवश छन् । समाजमा रहेको त्यस्तो पक्षलाई उपन्यासकारले उपन्यासको अध्याय ३ मा लाटीलाई प्रतिनिधि पात्र बनाएर सो सामाजिक परिवेशको व्याख्या गरेका छन् । मानिस बाध्यताको भुमरीमा परेपछि जस्तोसुकै पीडा पनि सहन सक्छ भन्ने उदाहरणका रूपमा यस उपन्यासमा आमाको विवशतालाई हेन सकिन्छ । जुनीभर सँगै जिउने कसम खाएर विवाह बन्धनमा बाँधिएका श्रीमान्ले अरु कसैलाई शिरमा राखेर हिँडेपछि नाबालक छोराछोरीको पालनपोषण र शिक्षादीक्षाका लागि यस उपन्यासकी पात्र आमाले गरेको सङ्घर्षको कथा मन छुने खालको छ । श्रीमान्ले घृणाको पात्र बनाउँदा पनि साहस दिने बुबासरीका ससुराबाको निधन पछि विक्षिप्त बनेकी म पात्रकी आमाको कथाले समाजमा हिंसाको सिकार बनेका महिलाहरूको पीडालाई उजागर गरेको छ । नेपाली समाजमा प्रायः निम्नवर्गीय मानिसहरू छन् । उनीहरूको जीवनशैली पीडादायक र सङ्घर्षशील हुने गर्दछ । मेलापाखा, अर्मपर्म गरेर जीवनयापन गरेका हुन्छन् । निम्नवर्गीय समाजको यथार्थ चित्रण गरिएको छ यस उपन्यासमा । गाउँमा शिक्षाको अवसर प्राप्त नहुँदा माध्यमिक तहसम्मको शिक्षा हासिल गर्नका लागि पनि गाउँ छाडेर शहर जानुपर्ने बाध्यता अझै पनि कायमै छ । यस कथाको प्रमुख पात्रका रूपमा रहेको म पात्रले आफ्नो अध्ययनलाई निरन्तरता दिनको लागि गाउँघर छाडेर शहरमा अर्काको घरमा काम गर्दै अध्ययनलाई निरन्तरता दिन गरेको सङ्घर्ष कम पीडादायक छैन । उपन्यासकारले यस उपन्यासमा नेपालमा अझै पनि गाउँबस्तीसम्म शिक्षाको पहुँच नपुगेको र धैरै बालबालिकाहरू शिक्षाको सहज पहुँचमा पुग्न नसकेको र चाहेअनुरूपको शिक्षा ग्रहण गर्न नसकेको तथा गाउँदेखि अध्ययनको लागि शहरमा जाने विद्यार्थीहरूले अर्थिक अभावका कारण झेल्नु परेको दुःख र सङ्घर्षलाई पनि प्रष्ट रूपमा उल्लेख गरेका छन् ।
पछिल्लो समय नेपाली युवाहरू विदेसिने क्रम बढ्दो छ । देशका ग्रामीण तथा शहरी क्षेत्रका युवाहरू विदेशमा रोजगारीका लागि भाँैतारिएका छन् । युवा विदेशिँदा तत्कालीन अवस्थामा रेमिट्यान्समार्फत् देशले केही आर्थिक लाभ लिने भए पनि यसको दीर्घकालीन असर निकै भयावह हुने देखिन्छ । यसरी देशको श्रमशक्ति र प्रतिभा बाहिरिने क्रम बढ्दै जाँदा पनि सरकारी तवरबाट स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवा शक्तिलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्ने उपयुक्त नीति निर्माण गर्ने कुरामा केही प्रगति भएको छैन । परिवारको भविष्य उज्ज्वल बनाउने सपना बोकेर विदेशिएका नेपालीहरूका पीडा सुनिनसक्नुका छन् । लेखकले विदेशिएका आफन्तहरू लास बनेर बाकसमा आउँदा परिवारका सदस्यहरूको हालत कस्तो हुन्छ भन्ने कुरालाई माइली कमिनीको कथाको आधारमा उल्लेख गरेका छन् । साथै गाउँले परिवेशमा हुर्किएको एउटा बालकले शिक्षा हासिल गर्नका लागि गरेको सङ्घर्ष र मानिसको इच्छाशक्ति भयो भने जस्तोसुकै प्रतिकूल परिस्थितिको पनि सामना गर्न सक्छ भन्ने कुरा पनि यस उपन्यासमा उल्लेख गरिएको छ ।
पात्रहरूः पात्रलाई उपन्यासको प्रमुख तत्वका रूपमा हेरिन्छ । कुनै पनि उपन्यासमा कथावस्तुलाई अगाडि बढाउने क्रममा विभिन्न पात्रहरूको माध्यमबाट लेखकको सन्देश व्यक्त गर्ने र पाठकहरूसँग भावनात्मक सम्बन्ध स्थापना गर्ने कार्यमा पात्रहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उपन्यासमा भएका पात्रहरूले कथालाई गति दिनुका साथै पात्रहरूबीचको आपसी सम्बन्ध, संवाद र कार्यशैलीले उपन्यासलाई उत्कृष्टता प्रदान गर्दछ । यस उपन्यासमा भएका पात्रहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
प्रमुख पात्र
यस उपन्यासमा प्रमुख पात्रका रूपमा म पात्र रहेको छ भने म पात्रलाई सफल बनाउन सहयोग गर्ने पात्रहरू आमा, र हजुरबालाई पनि प्रमुख पात्रकै रूपमा उल्लेख गर्न सकिन्छ ।
सहायक पात्र
बुबा, दाजु,
गौण पात्र
लाटी, लाटीको छोरो, कुमार सिरेस्ट, सृष्टि मिस, काउले कान्छो, पाजु, रामे, लाली, लालीकी आमा, बिर्खे, मामा, रोचक, दिदी, अभिमान, माइली, पुष्पा, समिरा, काया, रबिन, सुनिल, आयाम, गिरविर, मितिनी आमा, मित बुबा, उर्मिला, निर्मली, उर्मा, विरनन्द ।
अनुकूल पात्रः
आमा, हजुरबा, दाजु, बिर्खे, मामा, मितदाइ
प्रतिकूल पात्रः
बुबा, सानिमा
लिङ्गका आधारमा पात्रः
पुलिङ्गी पात्रः म, बुबा, हजुरबा, लाटीको छोरो, कुमार सिरेष्ट, काउले कान्छो, पाजु, रामे, बिर्खे, मामा, रोचक, अभियान, रविन, सुनिल, आयाम, गिरविर, विरनन्द, मीतबुबा आदि ।
स्त्रीलिङ्गी पात्रः
आमा, लाली, लाटी, सृष्टि मिस, लालीकी आमा, दिदी, माइली, पुष्पा, समिरा, काया, मितिनी आमा, उर्मीला, उर्मा आदि ।
सैद्धान्तिक कसीमा उपन्यासः
विषयवस्तुका आधारमा उपन्यासलाई विभिन्न भागमा वर्गीकरण गर्न सकिन्छ । सामान्यतः कथावस्तुका आधाारमा हेर्दा उपन्यासलाई सामाजिक, सांस्कृतिक, जीवनीमूलक, जासुस, मिथकीयलगायत विभिन्न भागमा वर्गीकरण गरिन्छ (बराल, २०५८) । सैद्धान्तिक कसीबाट हेर्दा रोयल चारघरे उपन्यास सामाजिक यथार्थवादी धाराको उपन्यासको रूपमा हेर्न सकिन्छ । उपन्यासकारले यस उपन्यासमा नेपाली समाजको यथार्थलाई समेटेर कथाको रूपमा प्रस्तुत गरेका छन् । खासगरी नेपाली समाजमा आम मानिसहरूले जीवनयापनका लागि गर्ने सङ्घर्ष, ग्रामीण समुदायका मानिसहरूको जीवनशैली, ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले शिक्षा, स्वास्थ्य सेवा लगायतका सेवा सुविधाहरूबाट वञ्चित हुँदा भोग्नुपरेका समस्याहरूलाई उपन्यासकारले यस उपन्यासमा समेटेका छन् । उपन्यासमा उल्लेख गरिएको कथा र यस उपन्यासमा भएका पात्रहरूको प्रस्तुतिलाई नियाल्दा यो उपन्यास सामाजिक यथार्थवादी धारामा लेखिएको उपन्यास हो भन्न सकिन्छ । त्यस्तै समाजमा भएगरेका यथार्थ घटनाहरूलाई कथाको रूपमा व्यक्त गरिएकाले अति यथार्थवादी धारामा आधारित पनि मान्न सकिन्छ ।
निष्कर्ष
रोयल चारघरे उपन्यास नेपाली समाजको यथार्थलाई चित्रण गर्न सफल उपन्यास हो । उपन्यासकारले यस उपन्यासमा कुनै कपोलकल्पित घटनालाई कथावस्तुको रूपमा समावेश नगरी समाजमा भएगरेका विभिन्न समसामयिक घटनाक्रमलाई कथावस्तुको रूपमा उल्लेख गरेका छन् । उपन्यासकारले उपन्यासको प्रमुख पात्रका रूपमा रहेको म पात्रलाई आधार मानी उसको बाल्यकालदेखि जागिरे अवस्थासम्मका विभिन्न घटनाक्रम र सङ्घर्षहरूलाई बडो सुन्दर रूपमा शब्दमालामा उनेका छन् । यहाँ उपन्यासकारले उपन्यासमा प्रस्तुत गरेको कथा प्रतिनिधि कथा हो । नेपाली समाजमा कथाको म पात्र जस्ता धेरै पात्रहरू छन् जसले आफूलाई सफल बनाउन अनेक सङ्घर्षका पहाडहरू चढ्नुपरेको छ ।
विशेषगरी नेपालको ग्रामीण क्षेत्रका मानिसहरूले आफ्ना सन्तानलाई भनेजस्तो शिक्षादीक्षा प्रदान गर्न नसकेको अवस्थालाई उल्लेख गरिएको छ । सामान्य शिक्षा ग्रहण गर्नका लागि गाउँघरदेखि टाढा जानुपर्ने बाध्यतालाई उपन्यासमा उल्लेख गरिएको छ । भनिन्छ सङ्घर्षबाट खारिएको मान्छेले आफ्नो जीवनको वास्तविक लक्ष्य प्राप्त गर्न सक्छ । लगनशीलता, धीरता र निरन्तरताले मानिसलाई सफल बनाउन सक्छ भन्ने भाव यस उपन्यासमा पाइन्छ । उपन्यासकारले उपन्यास लेख्दा सकेसम्म उपन्यासको सैद्धान्तिक पक्षलाई ध्यान दिएको पाइन्छ । विभिन्न आयामका घटनाक्रमहरूलाई कलात्मक रूपमा व्याख्या गर्दै रुचिपूर्ण बनाउने कुरामा रचनाकारले धेरै मिहिनेत गरेको पाइन्छ । उपन्यासमा प्रयुक्त भाषाशैली पनि सरल सहज रहेको छ । उपन्यासकारले आफ्नो समाजमा बोलीचालीको क्रममा प्रयोग गर्ने ठेट भाषालाई कथा लेखनको क्रममा प्रयोग गरेकाले अन्य समाजमा बसोबास गर्ने आम पाठकहरूलाई केही शब्दावलीहरू असामान्य पनि लाग्न सक्छ । यद्यपि उपन्यास तयार पार्ने क्रममा उपन्यासभित्र समावेश भएका पात्र र कथावस्तुले उपन्यासलाई न्याय दिएको छ । आफ्नो भोगाइ र सामाजिक परिवेशलाई अवलोकन गरी कलात्मक रूपमा व्याख्या गर्दै एउटा उपन्यास तयार पार्ने आँट गर्नु पनि चानचुने कुरा होइन । रोयल चारघरे उपन्यासले आम पाठकको मन जित्न सकोस्् रचनाकारको लेखनी निरन्तर रूपमा चलिरहोस् शुभकामना ।
सन्दर्भ सामग्री
नेपाल, देवी (२०७८), उपन्यास के हो र कसरी लेखिन्छः सिर्जना पाठशाला, (१७)
बराल, ऋषिराज (२०६३), उपन्यासको सौन्दर्यशास्त्र (दोस्रो संस्क.). ललितपुरः साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५८), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, दोस्रो संस्क., ललितपुरः साझा प्रकाशन
मल्ल, महेन्द्र (२०२२), उपन्यासको वर्गीकरण, पाटन प्रज्ञा ११ (२),
लुइँटेल, खगेन्द्रप्रसाद (२०६९). नेपाली उपन्यासको इतिहास. काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
सुवेदी, राजेन्द्र (२०६४). नेपाली उपन्यासः परम्परा र प्रवृत्ति. ललितपुरः साझा प्रकाशन ।
https://doi.org/10.3126/pragya.v11i02.52178








