धरानः कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीका अवसरमा कविशिरोमणि साहित्य साधना समाज धरानले आयोजना गरेको खुला कविता प्रतियोगितामा सवि मेवाहाङ राई पहिलो हुनुभएको छ । उहाँले ‘बाबा’ शीर्षकको छन्दोबद्ध कविता वाचन गर्नुभएको थियो ।
प्रतियोगितामा धनकुटाका भरत थापा, भोजपुरकी कञ्चन खत्री र धरानका भवानीप्रसाद खतिवडाले क्रमशः दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाउनुभयो । विजेता कविहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । प्रा.डा.सागरमणि सुवेदी, पत्रकार हर्ष सुब्बा र साहित्यकार भूषिता वाशिष्ठ निर्णायकको भूमिकामा रहनुभएको थियो ।
कार्यक्रममा साहित्यकार सुदीप पाख्रिनलाई शारा थापा स्मृति प्रतिष्ठानद्वारा स्थापित वेदकुमारी खड्गबहादुर थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार प्रमुख अतिथि साहित्यकार मनु मञ्जिल र पुरस्कार आयोजक वीरेन्द्रसिंह थापाले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो । यसैगरी पुरस्कार संस्थापक अन्नपूर्णा वस्तीले विराटनगर निवासी साहित्यसेवी उमानाथ भट्टराई ‘अचल’लाई प्रा.टीकाप्रसाद शर्मा वस्ती स्मृति पुरस्कार प्रदान गर्नुभएको थियो । दुवै जना स्रष्टाहरूलाई नगद रु. १० हजार, दोसल्ला एवम् सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।
सिद्धिकर्ण शर्माको सभापतित्वमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा विशेष अतिथिका रूपमा रहनुभएको थियो । डा.महानन्द तिमिल्सिना र डा.भवानीशङ्कर भट्टराईद्वारा सञ्चालित कार्यक्रममा भरतमणि भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रा.डा.रमेश घिमिरे र साहित्यकार भूषिता वाशिष्ठले कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा साहित्य अनुसन्धान परिषद्का अध्यक्ष खेमराज खनाल, लक्ष्मी वाचनालयका अध्यक्ष पुष्पराज ढकाल, विमल स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङ, साहित्य, कला संस्कृति प्रतिष्ठानका अध्यक्ष गोपाल प्रयास, प्रा. वंशीधर कट्टेल, साहित्यकार गिरिराज आचार्य, भीष्म काफ्लेलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।








