बेलगाछीः श्री रणकाली देवीस्थान मन्दिर सुन्दरहरैंचा ७ मा यही माघ ७ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको श्रीमद्भागवत महापुराण धनधान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।
बिहीबार मन्दिर सञ्चालक समिति र पुराण आयोजक समितिका साथै स्थानीयको संयुक्त भेला बसी आयव्यय सार्वजनिक गरिएको हो । सो पुराणमा २३ लाख ४७ हजार ५२७ रुपैयाँ आम्दानी भएको छ । आयोजक समितिका अनुसार ७ लाख ७३ हजार ४०० रुपैयाँ खर्च भएको छ भने १५ लाख ७४ हजार १२७ रुपैयाँ बचत भएको छ ।
बचत रकममध्ये १५ लाख १५ हजार रुपैयाँ ऋण चुक्ता गरी बाँकी रकम खातामा राखिने मन्दिर सञ्चालक समितिका अध्यक्ष डिल्लीप्रसाद प्रसाईँले जानकारी दिनुभयो । सचिव सूर्यप्रसाद सुवेदीका अनुसार रणकाली मन्दिर सामुदायिक भवन ढलाइ निर्माण कार्यमा रकम नपुगेपछि विभिन्न व्यक्ति संस्था र व्यवसायीसँग १५ लाख १५ हजार रुपैयाँ सापटी लिइएको थियो ।
सो महापुराणमा रोशन भट्टराई प्रमुख कथावाचक हुनुहुन्थ्यो भने इन्द्रप्रसाद अधिकारीले पाठपारायण गर्नुभएको थियो । पूर्वाञ्चल पर्यटन विकास संस्था प्रालि रतुवामाई १० मोरङ सहयोगी संस्थाको रुपमा रहेको थियो ।








