विराटचोकः आज शेयर बजारमा उतारचढाव जारी छ । बजार ह्वात्त बढ्ने र फेरि तल झर्ने क्रम बारम्बार चलिरहेको छ । जसका कारण कारोबार रकम बढ्न पुगेको छ ।
१ बजेसम्ममा जम्मा ७ करोड ९७ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ग्रीन लाइफ हाइड्रोपावरको शेयर किनबेच भएको छ । सो कम्पनीको ६४ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज प्रि ओपन सेसनमा ४ दशमलव ४४ अंकले बढेर २८२४ अंक पुगेको नेप्से सवा ११ बजे २८१९ मा झरेको थियो । साढे ११ बजे २८३४ वरपर कारोबार भएको नेप्से १२ बजे २८३८ भन्दा माथि पुगेको थियो ।
त्यसपछि बिक्री चाप बढ्न थालेपछि घटेको नेप्से पौने १ बजे २८०९ अङ्कसम्म झरेको थियो । जुन हिजोको सूचकभन्दा ११ अङ्क कम थियो ।
त्यसपछि बजारमा सुधार हुँदै जाँदा १ बजे २८२२ भन्दा माथि सूचक पुगेर कारोबार भइरहेको हो ।
सबैभन्दा बढी माग खानीखोला हाइड्रोपावरमा रहेको छ । सो कम्पनीको झण्डै ६४ लाख कित्ता किन्न माग गरिएको छ । बेच्न राखिएको कित्ता भने ८० हजारभन्दा कम छ । हिजोको भन्दा १४ रुपैयाँ मूल्य घटेर २९५ रुपैयाँको आसपासमा सो कम्पनीको शेयर किनबेच भइरहेको छ ।





