खेमचन्द्र अधिकारी
विराटचोकः प्रवेश शुल्क रहेका विभिन्न मेला, महोत्सव, जात्रा आदिमा सामान्यतः सञ्चारकर्मीको लागि निःशुल्क ‘पास’ दिएर निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको हुन्छ । तर मोरङको सुन्दरहरैंचामा यही माघ ३० गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने सुन्दरहरैंचा विराट एक्स्पोमा सञ्चारकर्मीले पनि भीभीआइपी पासको लागि प्रयोग हुने ज्याकेट खरीद गरेर सहयोग गरेका छन् ।
सुन्दरहरैंचामा निर्माणाधीन आधुनिक शौचालय तथा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजित एक्स्पोको उद्देश्य प्रशंसनीय भएकाले ज्याकेट खरीद गरिएको सुन्दरहरैंचा पत्रकार समूहका अध्यक्ष बाबुराम निरौलाले बताउनुभयो । सुन्दरहरैंचामा क्रियाशील १० जना सञ्चारकर्मीले ५० हजार रुपैयाँबराबरको ज्याकेट खरीद गरेर एक्स्पो आयोजक र सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यमा हातेमालो गरेको नेपाल पत्रकार महासंघ मोरङको कार्यसमिति सदस्यसमेत रहनुभएका निरौलाले जानकारी दिनुभयो ।
समूहका संस्थापक अध्यक्ष मणिराम दाहालले यस्ता महान् कार्यमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
आज बिहान आयोजित कार्यक्रममा संघका अध्यक्ष नारायण कार्कीले सञ्चारकर्मीलाई १० थान ज्याकेट हस्तान्तरण गर्नुभएको हो । सामान्यतः निःशुल्क पासको माग गर्ने सञ्चारकर्मीले ज्याकेट खरीद गर्नुले एक्स्पोको उद्देश्यलाई थप बल पुगेको र यसले सकारात्मक सन्देश प्रवाह गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।







