गछियाः सुन्दरहरैंचा नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ सोमबार सम्पन्न भएको छ । सुन्दरहरैंचा– ३ स्थित रणकाली मन्दिरको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाको विभिन्न शाखाका प्रमुखले आफ्नो शाखाको चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाइमा उपस्थित नगरवासी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले नगरपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा विभिन्न प्रश्न राखेका थिए ।
सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा रेडियो सुसेलीको सहजीकरणमा सम्पन्न कार्यक्रममा उठेका जिज्ञासाको नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलगायतले जवाफ दिनुभएको थियो ।
नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई स्वच्छ, पारदर्शी, वस्तुनिष्ठ बनाउन र सर्वसाधारण तथा सरोकारवालाको कानून सम्मत सरोकारलाई सम्बोधन गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम हुने गर्छ ।
वडा नम्बर ३ मा भएको सार्वजनिक सुनुवाइमा वडा नम्बर ३ कै जनप्रतिनिधि उपस्थित थिएनन् । वडा नम्बर १, २, ९, १० र १२ का जनप्रतिनिधिको पनि सार्वजनिक सुनुवाइमा उपस्थिति थिएन ।