काठमाडौंः हृदयाघातका कारण सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएको छ । उहाँ करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश हुनुभएको थियो ।
२०६५ भदौ २२ मा नियुक्त उहाँको पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थायी न्यायाधीशबाटै अवकाश पाउनुभएको थियो । त्यसपछि ६ वर्ष उहाँ मानव अधिकार आयोगको सदस्य बन्नुभएको थियो । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा कात्तिक २०७१ देखि १ कात्तिक २०७७ सम्म सदस्यको रुपमा रहनुभएका उहाँले भ्रष्टाचार नियन्त्रण, देवानी कानून एवं कानूनी प्रणालीको विकासक्रमका विषयमा पुस्तक लेख्नुभएको छ ।
अवकाशयुक्त जीवनमा उहाँ न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा क्रियाशील हुनुहुन्थ्यो ।







