विराटचोकः यही पुस २९ गते एलिसन स्पोर्ट्स प्रालिको आयोजनामा काठमाडौंको पेप्सिकोलामा ‘प्रथम महिला फुटसल च्याम्पियनसिप २०८१’ आयोजना हुने भएको छ । नेपाली महिलाहरुलाई फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालभरका कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरुले आफ्नो फुटसल टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले ८ जना खेलाडी, १ जना कोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्ने आयोजकले जनाएको छ । राष्ट्रिय खेलाडी वा ‘ए’ डिभिजनमा खेलिसकेका खेलाडीमध्ये अधिकतम २ जना खेलाडी मात्र टोलीमा समावेश गर्न सकिने बताइएको छ ।
विजेता टिमले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । निष्पक्ष खेल प्रदर्शन गर्ने टिमलाई रु. ४ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही रु. २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रबन्ध निर्देशक एलिना मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले रु.४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरी पुस २५ गते बिहीबार बेलुका ५ बजेसम्म टिम दर्ता गराउनुपर्ने बताइएको छ ।
प्रतियोगिताको मुख्य उद्देश्य बढीभन्दा बढी नयाँ महिला खेलाडीलाई खेलमा सहभागी गराउनु रहेको र कम्तीमा १६ टिमको सहभागिता रहने अपेक्षा गरिएको आयोजक संस्थाका अध्यक्ष सगुन थापा मगरले जानकारी दिनुभयो ।