विराटचोकः प्रकृति पूजक किरात समुदायको दोस्रो महत्त्वपूर्ण चाड उँधौली पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ ।
हरेक वर्ष मंसिर पूर्णिमादेखि शुरू हुने उँधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकतिरबाट बेँसीतिर अर्थात् उँधो झर्ने हुनाले उँधौली भनिएको हो । बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा यो पर्व मनाउने गरिन्छ ।
उँधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किरातीहरू एकापसमा भेला भएर चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन् ।
उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्छ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।
उँधौलीका अवसरमा पूर्वी नेपालका विभिन्न जिल्लामा मेला, सांस्कृतिक र खेलकुदका कार्यक्रम आयोजना हुन्छन् ।