गछियाः मोरङको सुन्दरहरैंचामा रहेका ११ वटा सहकारी संस्था एकापसमा मर्ज भई बनेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ स्थापना दिवसको अवसर पारेर मंसिर १० गते संस्थाले विभिन्न सम्मानका कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा ११ वटै सहकारी संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यावारिधी गर्ने संस्थाका २ जना शेयर सदस्यलाई संस्थाले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको थियो । सहकारी अभियन्ता केशवप्रसाद पोखरेललाई संस्थाले दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरेको थियो ।
संस्थाले कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका ११ जना सन्ततिलाई जनही १ हजार रुपैयाँ र प्रशंसापत्रले सम्मान गरिएको थियो । उत्कृष्ट बाल बचतकर्तातर्फ ६ जनालाई जनही रु ५०० रु प्रशंसापत्र तथा संस्थाका ३५ वटा लघुवित्तमध्ये उत्कृष्ट कारोबार गर्ने सेतो हिमाल महिला समूहलाई नगद ३ हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरी, नगद ५००, सम्मानपत्र र दोसल्लाद्वारा ८३ वर्षदेखि ९४ वर्षसम्मका १० जना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो । असल ऋण कारोबार गर्ने ६० जनामध्येबाट गोलाप्रथाद्वारा ५ जना, असल बचतकर्ता ५४ जनामध्ये गोलाप्रथाद्वारा ५ जनालाई सम्मानपत्र र नगद १ हजार रुपैयाँ प्रदान गरिएको थियो । उत्कृष्ट रेमिट कारोबार गर्ने ३ जनालाई नगद ५०० को साथमा प्रशंसापत्र र अधिक संरक्षित पूँजी फिर्ता गर्ने २ जना सदस्यलाई नगद १ हजार र प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण केन्द्र इनरुवाका प्रमुख हरिबहादुर खत्रीले सहकारीको सफ्टवेयर जाँच गर्ने तयारी गरिएको बताउनुभयो । सहकारीमा हुने ठगीधन्दालाई अन्त्य गर्न सफ्टवेयर जाँच गर्न लागिएको बताउनुभयो । कोशी प्रदेशमा १४ वटा सहकारीको कारोबार १ अर्बभन्दा बढी रहेको बताउँदै कनकलक्ष्मी पनि सो बाटोमा अघि बढिरहेको बताउनुभयो ।
सम्मानित सहकारी अभियन्ता केशवप्रसाद पोखरेलले सहकारी संस्था अहिले गम्भीर मोडमा रहेको बताउनुहुँदै सामाजिक सञ्जाल र सञ्चारमाध्यमभर सहकारीका नराम्रा समाचार मात्रै आइरहेको समयमा सहकारीको मर्मअनुसार काम गर्ने सहकारी चिनेर शेयर सदस्य बन्नुपर्ने उल्लेख गर्नुभयो । सहकारीका नाममा दर्ता भएर ठगीधन्दा गर्ने संस्थाले सहकारीको बदनाम गराएको हुँदा सहकारीको उद्देश्यअनुसार नचलेका संस्थामा शेयर सदस्य बन्न नहुने सुझाव दिनुभयो ।
सम्मानित शिक्षाविद् डा. दीपकप्रसाद न्यौपानेले संस्थाले विद्यावारिधी गर्ने शेयर सदस्यलाई र अन्य धेरै विषयमा धेरै व्यक्तिलाई सम्मान गर्नु संस्थाको अनुकरणीय काम भएको बताउनुभयो ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले सहकारीका विकृति कम गराउन यस्ता रचनात्मक कामले सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोपाल पौडेलले सुन्दरहरैंचामा अरु पनि सहकारी संस्था एकापसमा मर्ज भएका भए पनि यति धेरै सङ्ख्यामा सहकारी मर्ज भएर नयाँ नाम बनेको पहिलो सहकारी भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष नागेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुनकुमार तिम्सिनाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष मातृकाप्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।