विराटचोकः अब जुनसुकै अस्पतालले उपचार सेवा दिएबापत लिएको शुल्क सार्वजनिक गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।
तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन परिपत्र गरेको बताइएको छ ।
मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रूपमा जानकारी पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ । सो पत्रमा शल्यक्रिया शुल्क पनि खुलाउन भनिएको छ । यसैगरी सबै खालका शय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन निर्देशन दिइएको छ ।