तस्बिरः कृष्णचन्द्र सुवेदी
विराटचोकः सुन्दरहरैंचाका मुख्य चोकमा अत्याधुनिक शौचालय बनाउने योजनाले पूर्णता पाउन सकेन । उद्योगी भोलेश्वर दुलालको योजना, सुन्दरहरैंचा उद्योग वाणिज्य संघको व्यवस्थापन तथा सुन्दरहरैंचा नगरपालिकालगायतका संघसंस्थाको आर्थिक तथा आवश्यक अन्य सहयोगमा सुन्दरहरैंचाका ८ स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय बनाउने योजनाले लगभग ५० प्रतिशत सफलता पाएको छ ।
सुन्दरहरैंचाको विराटचोक, सलकपुर, हरैँचा, खोर्साने, मृगौलिया, बलिया, गोठगाउँ र गछियामा सुविधासम्पन्न शौचालय बनाउने भनिए पनि २ ठाउँका शौचालय मात्र सञ्चालनमा आएका छन् । सलकपुर र विराटचोकका शौचालय २०७७ असोज २७ गते उद्घाटन भएका थिए । खोर्साने र हरैंचामा बनेका यस्ता शौचालय उद्घाटनको पर्खाइमा भए पनि मृगौलिया, गोठगाउँ, गछिया र बलियामा भने शौचालय शिलान्यास पनि हुन सकेनन् ।
यी शौचालयसँगै अत्याधुनिक विद्युतीय पुस्तकालय, स्मोकिङ जोन, ब्युटी पार्लर, सैलुन पनि सञ्चालन गर्ने र शौचालय सफाइ गर्ने घरवारविहीन श्रमिकलाई शौचालयको तेस्रो तलामा आवास सुविधा दिने निर्णय भएको थियो । सलकपुर र विराटचोकका शौचालयमा इ लाइब्रेरीबाहेक अन्य सुविधा रहेका छन् । विद्युतीय पुस्तकालय नभए पनि सामान्य रुपमा पुस्तकालय भने सञ्चालनमा रहेका छन् ।
सैलुन, कफी सप, स्मोकिङ जोन, शौचालय आदि सञ्चालनमा आउँदा सलकपुर र विराटचोकका ती शौचालय हेर्न देशविदेशबाट मानिस आउने गरेका छन् ।