विराटचोकः आज कोजाग्रत पूर्णिमा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाअन्तर्गत आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ ।
आज साँझ महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको छ ।
माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आरधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।
महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप प्रज्ज्वलन पनि शुरु हुन्छ । आकाशदीप प्रज्ज्वलन बाँसको लिङ्गोमा गरिन्छ । बाँस पाइएन भने पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याइ गरिन्छ । आकाशदीप भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।
आज आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ । कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।