विराटचोकः देशभर आजदेखि मनसुन पुनः सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना हुनुका साथै एक–दुई स्थानमा भने ठूलो वर्षाको समेत सम्भावना छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जन\चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि बुधबारदेखि भने मनसुनी वायुको प्रभाव थप बढेर सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरी चल्ने महाशाखाले अनुमान गरेको छ ।
असोज १० देखि १२ सम्म २७ जिल्ला उच्च जोखिममा पर्ने
असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला वर्षाबाट प्रभावित हुने भएका छन् । सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदू््पश्चिमसम्मका जिल्लामा पर्ने भएको छ । कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिममा रहनेछन् ।
लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेका साथै कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधु्रा र डोटी जिल्ला पनि उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।