विराटचोकः विश्वको वायु प्रदूषण गुणस्तर सूचक आइक्युएअर डट कमको आज बिहान ६ बजेको सूचकअनुसार नेपाल विश्वको स्वच्छ शहरको पहिलो सूचीमा रहेको छ । दोस्रोमा न्यूजिल्याण्डको अकल्याण्ड र तेस्रोमा म्यानमारको याङ्गुन रहेका छन् । यी शहरको वायुको गुणस्तर क्रमशः ११, १२ र १४ रहेको छ । यस्तो सूचक ३५ भन्दा तल हुनुलाई वायुको स्वच्छताको दृष्टिले स्वच्छ मानिन्छ ।
आइक्युएअर डट कमका अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अहिले बिहान साढे ६ बजेको यो सूचकअनुसार कंगोको किङ्सासा, कुबेतको कुबेत र इण्डोनेसियाको जाकार्ता प्रदूषित शहरको क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । यी शहरको वायुको गुणस्तर क्रमशः १६३, १५३ र १४९ रहेको छ । १५० भन्दा माथि यस्तो सूचक रहनु वायु स्वच्छताको दृष्टिले खराब रहेको जनाउँछ ।
मनसुन भित्रिएपछि नेपालको एक्युआइ सूचकमा भने निरन्तर सुधार देखिएको छ । कुनै बेला विश्वको सबैभन्दा प्रदूषित शहरको रुपमा काठमाडौं रहँदा काठमाडौंको एक्युआई सूचक २०० भन्दा माथि पुगेको थियो ।
एक महिना अघि काठमाडौंको एक्युआई सूचक ३१ हुँदा प्रदूषित शहरको सूचीमा नेपाल ९७ औँ स्थानमा रहेको थियो । आज प्रदूषित शहरको सूचीमा नेपाल १२० औँ स्थानमा रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्युआई सम्मलाई सामान्य मानिन्छ ।
यो इण्डेक्स दिनभर एउटै रहँदैन । प्रत्येक मिनेटमा तलमाथि भइरहन्छ ।