खेमचन्द्र अधिकारी
कानेपोखरीः ‘गाउँपालिकाले गुन्द्रुक प्रवर्द्धन गर्नुपर्छ भन्दा हाँसोको विषय बन्यो’, अब गाउँपालिकाजस्तो भएर गुन्द्रुके कार्यक्रममा लागेको छ यो के गरेको भन्ने कुरा उठ्यो ।’
कानेपोखरी गाउँपालिकाकाले किसानको जीवन स्तर उकास्न खेर गइरहने तोरीको सागबाट गुन्द्रुक बनाएर बेच्ने निर्णय गर्याे । हिउँदमा तोरीको राम्रो खेती हुने सो पालिकामा विगत तीन वर्षदेखि गुन्द्रुक प्रवर्द्धन कार्यक्रम सञ्चालनमा छ । गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीका अनुसार किसानलाई यो कार्यक्रमले सहयोग पुग्छ भन्ने धेरैले बुझ्नुभएन ।
‘गुन्द्रुक प्रवर्द्धन कार्यक्रममा लाग्दा धेरै भनाइ खानुपर्याे’, उहाँले भन्नुभयो, ‘यो कार्यक्रमको हिसाब निकाल भनेर सधैँ भनिन्छ । कालोपत्रेको हिसाब निकाल, शिक्षामा भएको लगानीको हिसाब निकाल, बाटोको हिसाब निकाल भनेर कसैले भन्नुभएको छैन ।’
बुढाथोकीका अनुसार साना किसानमार्फत् सातै वडामा कार्यक्रम लागू गरियो । तोरीको बीउ, त्यहाँ लाग्ने खर्च, जैविक मल, अन्य सामान प्रदान गरिएको थियो । नगरपालिकाले हजार रुपैयाँ प्रति केजीका दरले शुरुमा गुन्द्रुक किनेको थियो ।
साना किसान सहकारी संस्था केरौनले ६०० रुपैयाँ प्रति केजीका दरले बेचेर किसानलाई भुक्तानी दियो । कानेपोखरीमा सबै गुन्द्रुक खपत नहुँदा र बाहिर राम्रो बजार व्यवस्थापन हुन नसक्दा केही समस्या परेको तर बिस्तारै यसको समाधान हुने उहाँको भनाइ थियो ।
गुन्द्रुक सुकाउने मेसिन खरीदका लागि प्रदेश सरकारले ७ लाख रुपैयाँ विनियोजन गरेकाले आगामी दिनमा पालिकाले गुन्द्रुक प्रवर्द्धनलाई थप प्रभावकारी ढङ्गले सञ्चालन गर्ने उहाँको भनाइ छ ।