Tuesday, December 24, 2024
Homeकला र साहित्यसिजन श्रेष्ठको कविता सङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ लोकार्पित, क्लिष्ट शब्द र बिम्बको...

सिजन श्रेष्ठको कविता सङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ लोकार्पित, क्लिष्ट शब्द र बिम्बको बढी प्रयोग नगर्न वक्ताको सुझाव

विराटचोकः सिजन श्रेष्ठ साहित्यकारबीच नौलो नाम होइन । पछिल्लो पुस्ताका सशक्त कवि श्रेष्ठले राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी भई विजेता बनेर आफ्नो कवित्वको परिचय दिनुभएको छ ।

श्रेष्ठको पहिलो एकल कविता सङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ को शुक्रबार लोकार्पण गरिएको छ । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले सो कृतिको लोकार्पण गर्नुभयो ।

श्रेष्ठका कविता सशक्त हुँदाहुँदै पनि बोधगम्यतामा कठिनाइ रहेका कार्यक्रमका वक्ताहरुले बताउनुभयो । प्रमुख अतिथि गुरागाईँले कविता पढ्न थालेपछि त्यसको अर्थ लगाउन विज्ञहरु खोज्न थाल्नुपर्याे भने कविता पढ्न मन नलाग्ने बताउनुभयो । श्रेष्ठका कवितामा प्रयोग भएका कतिपय शब्दको अर्थ थाहा नहुँदा सहज बोधगम्य हुन नसकेको उहाँको भनाइ थियो ।

प्रमुख अतिथि गुरागाईँमात्रै होइन कृतिमाथि आफ्ना विचार राख्ने क्रममा समीक्षक डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले पनि कवितामा प्रयोग भएका जटिल शब्दले पाठकलाई तान्न नसक्ने बताउनुभयो ।

‘उहाँका कविता जम्मै भावनाका तर पढिदिनुपर्ने तर पढिदिनुपर्ने जम्मै बुद्धि र विचारले । रसभरी होइन छुर्पी खाएजस्तो’, समीक्षक न्यौपानेले भन्नुभयो, ‘कविता पढ्यो अनि एकछिन घोत्लियो, के भनेको हो भनेर ।’

‘कविकी प्रेमिकालाई सम्झिएर कविकी श्रीमतीको पनि आँसु खसाल्न सक्ने शक्ति भएका कविता सङ्ग्रहमा रहेका छन्, डा. बिष्टले भन्नुभयो, ‘कविताको शक्ति भनेको नै यही हो ।’

समीक्षकहरूले यस कृतिमा समावेश कविताहरू उत्कृष्ट रहेको तथा विज्ञान, गणित र इतिहासका शब्द, पात्र र भाव समेटिएका कविता पनि पठनीय हुनु नै कृतिकारको सफलता रहेको बताउनुभयो ।

कवि श्रेष्ठले आफ्ना प्रकाशोन्मुख दोस्रो र तेस्रो कविता सङ्ग्रहमा क्लिष्ट शब्दको कम प्रयोग गर्न प्रयास गर्ने बताउनुभयो ।

कृति लोकार्पण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर थापा, वडा अध्यक्षहरू लगायत अन्य जनप्रतिनिधि, प्राध्यापक, समाजसेवी, विद्यार्थी र साहित्यकारहरूको उपस्थिति थियो । सुकुना बहुमुखी क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले आयोजना गरेको कार्यक्रम समितिका संयोजक विदुर सुवेदीको अध्यक्षता तथा नगरपालिकाका कर्मचारी अनिल पोखरेलको सञ्चालनमा भएको थियो । नगरपालिकाका कर्मचारी वासु अधिकारीले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments