विराटचोकः अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । यसअघि असार ७ गते अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १५ पैसा पुगेर रेकर्ड कायम भएको थियो । आज सो मूल्यभन्दा २ पैसा महङ्गो भएको हो ।
नेपाल राष्ट्र बैंक अनुसार शनिबार अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १७ पैसा कायम भएको छ । खरिददर भने १३३ रुपैयाँ ५७ पैसा रहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
आज युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा रहेको छ ।