भरतपुरः होटल व्यवसायी संघ चितवनले असार २८ गते बिहान नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालको पहिरोमा परी बेपत्ता भएकाहरुका आफन्तलाई निःशुल्क खाना बस्नको व्यवस्था गरेको छ ।
पहिरोमा परी बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्याउने उद्देश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिनुभएको छ ।
बेपत्ता भएका आफन्तलाई खोजी कार्यको लागि आउँदा भनेको समयमा पैसा नहुने हुँदा पैसा नभएकै कारण आफन्तको खोजी कार्य नरोकियोस् भन्ने हेतुले बेपत्ताका आफन्तलाई चितवनका विभिन्न होटलमा निःशुल्क खाना बस्नको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
बेपत्ताका आफन्तलाई विभिन्न संघसंस्था वा मनकारी दाताले दुर्घटनास्थलमा निःशुल्क खाजा र पानीको पनि व्यवस्था गरेका छन् ।