कैलालीः दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा गएको पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार नदीको बहाव आंशिक थुनिएकाले नदी किनारका बस्तीका नागरिकलाई सतर्क गराउन थालिएको छ ।
अपिहिमाल, मार्मा, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाका तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित प्रहरी निकायलाई जानकारी गराइएको तथा डडेलधुरा र बैतडीका तटीय क्षेत्रका बासिन्दालाई समेत खबर गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ ।





