काठमाडौंः स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिक (राई) लाई सम्मान गरिएको छ ।
नारायण गोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले नारायण गोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरिन् । पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ ।
दिवङ्गत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भुवन चन्दले ग्रहण गरिन् । अग्रज स्रष्टा तारादेवीले तीन हजार पाँच सयभन्दा बढी गीतमा स्वर दिएकी थिइन् ।
सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायण गोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै नारायण गोपालको गीत सङ्गीतबिना सुगम सङ्गीत अपुरो हुने बताए । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको संस्थाले जनाएको छ । कार्यक्रममा विभिन्न कलाकारले नारायण गोपालका गीत गाएका थिए ।