बेलेपुरः २१ औँ राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ सुन्दरहरैंचा नगर समितिले आज आयोजना गरेको हिले दौड प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ दोस्रो हुनुभएको छ । प्रतियोगितामा पहिलो राजेन्द्र अधिकारी तथा तेस्रो चन्द्रकला अधिकारी हुनुभएको थियो ।
त्यस्तै, रोपाइँ प्रतियोगितामा पहिलो शर्मिला पौडेल, जमुना अधिकारी दोस्रो र यशोदा पौडेल तेस्रो हुनुभएको थियो । दुवै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५००, ३०० र २०० रुपैयाँ प्राप्त गर्नुभयो । सबैभन्दा छिटो रोप्ने, हार मिलाएर रोप्नेलगायतका धान रोपाइँका प्राविधिक पक्ष हेरेर निर्णय गरिएको आयोजकले जनाएको छ ।
हिले दौड र रोपाइँ प्रतियोगिता हुनुपूर्व गरिएको अन्तरक्रियामा कृषिविज्ञ राजेन्द्र उप्रेती, नगरप्रमुख गुरागाईँ, नगरपालिकाको कृषि शाखाका प्रमुख फरिन्द्र भट्टराईलगायत उपस्थित हुनुहुन्थ्यो ।
महासंघका सुन्दरहरैंचा अध्यक्ष एगेन्द्रराज पौडेलको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा महासंघको सुन्दरहरैंचा वडा नम्बर १ की उपाध्यक्ष राधे तिम्सिनाले स्वागत मन्तव्य राख्नुका साथै किसानका समस्या समेटिएको ज्ञापनपत्र नगरप्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा कृषि विज्ञ राजेन्द्र उप्रेतीले धानबालीको विषयमा आफ्ना धारणा राख्नुभएको थियो । प्रमुख अतिथि नगरप्रमुख गुरागाईँले पालिकाले कृषि क्षेत्रमा गरेका कामको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उदयपुरको बेलका नगरपालिका पूर्व नगरप्रमुख दुर्गा थापा तथा सुन्दरहरैंचा नगरपालिकाकी पूर्व उपप्रमुख धनामाया तामाङले पनि आफ्नो धारणा राख्नुभएको थियो ।