जुम्लाः पालिकाहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँनयाँ नीति अघि सारेका छन् । यसै क्रममा जुम्लाको तातोपानी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेमा पहिलो वर्षको पढाइ खर्चका लागि वर्षमा एक जनालाई १५ लाख प्रदान गर्न बजेट विनियोजन गरिएको छ ।
एकल पुरुष र व्यावसायिक किसानलाई भत्ता दिने नीति लिएको गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउनेबाहेक एकल पुरुषलाई भत्ता उपलब्ध गराउन चार लाख बजेट विनियोजन गरेको छ । एक सयभन्दा बढी भेडाबाख्रा पालन गर्ने व्यावसायिक किसानलाई प्रोत्साहन भत्ता वितरण गर्न दुई लाख बजेट विनियोजन गरिएको छ ।
यसैगरी, घर बिमा कार्यक्रमका लागि ७५ लाख, अतिविपन्नको स्वास्थ्य बिमा कार्यक्रमका लागि १६ लाख बजेट विनियोजन गरिएको छ ।
जेहेनदार तथा विपन्न विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षाका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
अन्तर्जातीय विवाह गर्ने प्रतिजोडीलाई २० हजार प्रदान गर्ने प्रोत्साहन तथा सम्मान कार्यक्रम रहेको छ ।