विराटचोकः नागरिक समाज सुन्दरहरैंचाले वडा नम्बर ११ मा रहेको जनता आधारभूत विद्यालयमा गरेको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिको उपस्थिति नहुँदा दुःख लागेको समाजले जनाएको छ ।
विद्यालयको शैक्षिक अवस्थाको बारेमा जानकारी लिन तथा अभिभावक र विद्यार्थीको आवाज सुन्न गरिएको कार्यक्रममा सुन्दरहरैंचा ११ का सबै आधारभूत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपस्थित हुनुहुन्थ्यो । समाजका अध्यक्ष दधिराम ढुङ्गानाका अनुसार सो विद्यालयको छानो जीर्ण भएकाले घामपानी नछेक्ने अवस्थामा छ । पर्याप्त फर्निचर पनि नपाइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि उपस्थित नहुँदा अभिभावकले आक्रोश व्यक्त गर्नुभएको थियो । नेकपा एमालेका वडाध्यक्ष हरिकृष्ण कट्वालले कार्यक्रम अवधिभर बसेर अभिभावक र शिक्षकको कुरा सुन्दा खुशी लागेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।
अन्तरक्रिया तथा अनुगमन कार्यक्रमलाई सबै वडामा निरन्तरता दिइने समाजले जनाएको छ ।