इटहरीः कोशी प्रदेशका पर्यटकीय क्षेत्र तथा पर्यटन व्यवसायको विकासका लागि जेठ २५ गतेदेखि २७ गतेसम्म इस्टर्न ट्राभल मार्ट २०२४ हुने भएको छ ।
नेपाल पर्यटन बोर्र्डको आयोजनामा इटहरीको सोल्टी वेस्टेण्डमा जेठ २५ गते हुने मार्टको उद्घाटन कार्यक्रममा भारतका विहार, पश्चिम बंगाल सिक्किम प्रान्त, भुटान र बंगलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी, पर्यटनकर्मी, पर्यटन पत्रकार, पर्यटन अभियन्ताहरु सहभागी हुने भएका हुन् ।
नेपालका ५० जना भन्दा बढी ट्राभल व्यवसायीहरु सहभागी हुने मार्टका संयोजक भविषकुमार श्रेष्ठले बताउनुभयो । पर्यटन बोर्डको ३० लाख र इटहरी उपमहानगरपालिकाको ६ लाख रुपैयाँको लागतमा कार्यक्रम हुने मार्टका सचिव बासुदेव बरालले बताउनुभयो ।
दोस्रो दिन जेठ २६ गते कोशी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराइने आयोजनका कोषाध्यक्ष तेजबहादुर पुरीले बताउनुभयो । कोशी प्रदेशमा सञ्चालित तारे होटलहरु प्रदेशका मुख्य गन्तव्यहरूमा भ्रमण गराइने भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने मार्टमा सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिने भएको छ । कार्यक्रमको समापन झापाको काँकरभिट्टामा रहेको होटल मेची क्राउनमा जेठ २७ गते हुने भएको छ ।